एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो : रामचन्द्र पौडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ।

आज दमौलीमा प्रेस युनियन तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पार्नुभएको छ।

‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ’, उहाँले भन्नुभयो।

एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाउनुभयो ।

‘एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो’, उहाँले भन्नुभयो, ‘जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ ।’


प्रकाशित | १२ फाल्गुन २०७८, बिहीबार ११:३४