राष्ट्रपति भण्डारीद्धारा दुई हजार वर्ष पुरानो सैनिक संग्रहालयको अवलोकन

एजेन्सी : राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सियानस्थित माटोबाट बनेको सेनाको सङ्ग्रहालय ‘टेराकोटा वारियर्स म्युजियम’ अवलोकन गर्नुभएको छ । अवशेष प्रदर्शनमा विशिष्ट मानिने सो सङ्ग्रहालय आइपुग्दा राष्ट्रपति भण्डारीलाई प्रमुख पुरातत्वविद् होउले स्वागत गर्दै सङ्ग्रहालयका विषयमा जानकारी दिए। सो अवसरमा राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो ।

सो सङ्ग्रहालयमा दुई हजार वर्षभन्दा पुराना माटाका मूर्ति छन्। ती किन्सिहुवाङको समाधिका रक्षकका रुपमा देखिन्छन्। समाधिमा दुई भाग छन् र ती बाहिरी र भित्री नगरका रुपमा छन्। दुवै नगर चतुर्भुज आकारका छन्। समाधिको भित्री भाग नगरको दक्षिणी भागमा छ। आरम्भमा सो समाधिको उचाइ ११५ मिटर रहेकामा दुई हजार वर्ष बित्दा हाल ७० मिटरमा खिइएको छ। समाधिमा करीब ५०० अन्य साना समाधि फेला परेका छन्। सम्राट् किन्सिहुवाङको समाधिबाट करीब १।५ किमी पूर्वमा माटाका सैनिक तथा घोडा छन्।

सन् १९७४ मा किसानले इनार खन्दा माटाबाट बनेका कलाका अवशेष फेला पारेका थिए। पुरातत्वविद्को एक समूहले अनुसन्धान तथा उत्खनन् गर्दा ठूलो खाडल फेला पारेको थियो। त्यहाँ माटाका करीब छ हजार सैनिक तथा घोडा फेला परे। सन् १९७६ मा उनीहरुले यस्तै अन्य दुई खाडल फेला पारे। त्यसलाई खाडल १, २ र ३ को नाम दिइयो। ती माटाका सैनिक तथा घोडा जीवित आकारका छन्। ती सैनिकले काँसका हतियार लिएका छन्। सैनिक राम्रोसँग लामबद्ध छन्। त्यहाँ रथ, स्थलसैनिक, घोडचढी तथा सशस्त्र सैनिक सबै छन्।

पैँसठ्ठी दशमलव २५ वर्ग किमी क्षेत्रमा रहेको सम्राट्को सो समाधि बनाउन सात लाख २० हजार श्रमिकलाई ३७ वर्ष लागेको अनुमान गरिएको छ। यहाँ राजदरबार, नगरका पर्खाल तथा ढोका पनि छन्। हाल यहाँ १४९ खाडल तथा १९६ समाधि फेला परेका छन्। सन् १९६१ मा यहाँको राज्य परिषद्ले सम्राट् किन्सिहुवाङको समाधिलाई प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थलका रुपमा घोषणा गरी यसलाई राज्यबाट संरक्षण दिएको थियो। सन् १९८७ डिसेम्बर ७ मा सो सङ्ग्रहालयलाई युनेस्कोले विश्व सांस्कृतिक सम्पदाका रुपमा घोषणा गर्‍यो।

सङ्ग्रहालय अवलोकनमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि  चीनका राजदूत होउ याङ्ची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभगि हुनुहुन्थ्यो ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार ११:२८