पदका लोभी होइनौ भन्ने प्रमाणीत गर्न नवनिर्वाचित अध्यक्षहरुले राम्रो काम गर्नुपर्नेछ: पन्त

काठमाडौं : गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले संस्थाका वर्तमान तीनै जना अध्यक्षहरुले मिलेर संस्थाको हितमा काम गर्न नसके ठूलो क्षति ब्यर्होनु पर्ने बताउनु भएको छ ।

निवर्तमान अध्यक्ष पन्तले संस्थालाई विभाजनबाट जोगाउन अध्यक्षका तीनै जना उम्मेदवारलाई अध्यक्ष बनाउने र पदहरु थप्ने जस्ता अप्रिय निर्णय गर्नुपरेको बताउँदै संस्थाकोे हितमा काम नगरे र फेरि झगडा गरे ब्यक्तीगत रुपमा ठूलो क्षति ब्यर्होनु पर्ने बताउनु भएको हो ।

संचारकर्मीसँग कुराकानी गर्नुहुँदै पन्तले भविष्यमा नजिर नबस्ने गरि पदहरु थपिएको र अर्को कार्यकालबाट यी सबै पदहरु स्वत: खारेज हुने पनि बताउनु भयो । अध्यक्षका उम्मेदवार सबै जनालाई अध्यक्ष बनाउँदा मात्र तत्कालका लागि संस्था विभाजनबाट जोगिने भएकाले उहाँहरुले इच्छा जाहेर गरेअनुसार पदीय जिम्मेवारी दिइएको पन्तको भनाई छ ।

‘संस्थामा पदका आंकाक्षी साथीहरु थेरै भए । संस्थाले पद लिनुस, विभाजन नगर्नुस भनेर मात्र पदीय जिम्मेवारी दिएको हो । कसैले लुकाउनु पर्दैन, अहिलेको समस्या अध्यक्षका उम्मेदवारहरुकै कारण आएको हो’, उहाँले भन्नु भयो ।

पन्तले पद प्राप्ति गर्नका लागि जे पनि गर्न तयार रहेछन भन्ने जनमानसमा परे पनि तत्कालका लागि यो निर्णयले संस्थाको गरिमा भने बचेको दावी गर्नु भयो । उहाँले नेतृत्वमा पुग्ने ब्यक्तीको गरिमा भने गिरेकाले हिजोको गल्तीबाट पाठ सिकेर राम्रा राम्रा काम गरेर एनआरएनएको उचाई बढाउने काम गरेमा भने उचाई बढ्ने र गल्तीलाई सबैले भुलीदिने बताउनु भयो ।

‘यी पदका लोभी र आंकाक्षी हुन, पदका लागि जे पनि गर्दा रहेछन भन्ने जनमानसमा परेको छ’, उहाँले भन्नु भयो, ‘त्यसो भएको हुनाले असल र राम्रा काम गर्नु भएन भने संस्थालाई भन्दा उहाँहरुलाई नै बढी ड्यामेज गर्छ।’

साथै उहाँले झट्ट हेर्दा हिजोको विभाजीत मनोविज्ञान, झगडालु स्वभावका साथीहरु एकै ठाउँमा भएकाले मिल्न सक्दैन कि भन्ने अनुमान सहजै लगाउन सकिने भए पनि आत्मालोचना गरेर अगाडि बढेमा र संस्थाको हित सोचेमा भने मिलेर काम गर्न सकिने बताउनु भयो ।

उहाँले वर्तमान नेतृत्वका चुनौती र अवसर दुवै रहेको बताउँदै आलोचीत भएका साथीहरुले महसुस गर्दै गल्तीलाई सच्याएर जनमानस नकारात्मक छन भन्दै होसियारीका साथ काम गर्नुपर्ने उहाँको सुझाव छ ।

त्यस्तै, सामाजीक काम गर्ने ब्यक्तिलाई अन्य धेरै क्षेत्र रहेको बताउँदै निवर्तमान अध्यक्ष पन्तले संस्थामा तल्लो तहदेखि काम गर्दै नेतृत्वमा सम्म पुगिसकेकाले अब संस्थामा सक्रिय भइरहनु पर्छ भन्ने नरहेको बताउनु भयो । सामाजीक काम गर्छु भन्नेलाई अन्य धेरै क्षेत्र भएकाले ब्यक्तिगत इच्छाको आधारमा अगाडि बढ्न सकिने बताउनु भयो ।

पन्तले नेतृत्व हस्तान्तरण गरिरहँदा कुनै किसिमको छुट्टै खाले अनुभुति नभएको पनि बताउनु भयो । उहाँले एनआरएनए सामाजीक च्यारिटीको काम गर्ने संस्था भएको र नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने खाँचो औल्याउनु भयो । साथै पदीय जिम्मेवारीमा नभएपनि सामाजीक कार्य गर्न भने पछि नहट्ने उहाँले बताउनु भयो ।


प्रकाशित | २० चैत्र २०७८, आईतवार २१:११