गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त हुनुभएको छ । प्रदेशसभामा मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुगेपछि ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त हुनुभएको हो ।

प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८)३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गर्नुभएको हो ।

बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी अस्वीकृत गरेको थियो ।


प्रकाशित | २९ बैशाख २०७८, बुधबार १८:०४