खुम्चिँदै चारकोसे, ३० वर्षयता ११ हजार हेक्टर घट्यो

मोरङ: सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको छ । अहिले पनि कगजीरुपमा ५५ हजार ५०० हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५४० हेक्टरमा सीमित भएको हो । घना जंगल रहेको ठाउँमा अहिले बाक्लो बस्ती र बजार विस्तार भएको छ । डिभिजन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले ३ दशकमा जंगल क्षेत्र करिब ११ हजार घटेको बताए ।

अहिलेको लेटाङ, बेलबारी, डाँगीहाट, भाउन्ने, पथरी, कानेपोखरी, मंगलबारे, उर्लाबारी, मधुमल्ला, केराबारी र सुन्दरहरैंचालगायत क्षेत्रमा घनाजंगल थियो । अहिले ती सबै ठाउँमा बाक्लो बस्ती र बजार विस्तार भएको छ । जंगलको बीचमा रहेको लेटाङ नगरपालिका बजार क्षेत्र सबै चारकोसे जमिन हो ।

यहाँ बन अतिक्रमण गरेर बसोबास गर्ने परिवारको संख्या ३ हजारभन्दा बढी रहेको नगरप्रमुख शंकर राईले बताए । विसं २०२५ सालमा चिसाङ खोलाले बस्ती उठाएपछि त्यहाँका बासिन्दा यता सरेको उनको भनाइ छ । यो समाचार कान्तिपुर दैनिकमा विनोद भण्डारीले लेखेका छन् ।


प्रकाशित | १९ श्रावण २०७६, आईतवार ०९:३५