गण्डकीमा विपक्षीको दावी अस्वीकृत, पृथ्वीसुब्बा पुन: मुख्यमन्त्री बन्दै

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङलाई नै पुन: सपथ खुवाइने तयारी भएको छ । मुख्यमन्त्रीका लागि दावी गरेका विपक्षी गठबन्धनको प्रस्ताव अस्वीकृत भएपछि गुरुङलाई नै पुन: सपथ खुवाउन लागिएको हो ।  नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्न लागेको हो ।

अहिले सपथ ग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमा  पुगिसकेको जनाइएको छ । संविधानको धारा १६८ (३) अनुसार गुरुङ फेरि मुख्यमन्त्री नियुक्त हुन लाग्नुभएको हो ।

बुधवार अपरान्ह ४ बजेसम्मको समय भित्र कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुग्नुभएको थियो । तर, त्यही बेला जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आफू तटस्थ रहेको भन्दै आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाएपछि विपक्षीले पेश गरेको दावी अस्वीकृत भएको हो ।

त्यस लगत्तै जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले पनि आफू गठबन्धनमा नरहेको वक्तव्य दिएपछि चार दलको समर्थन भनिए बहुमत नपुगेकाले गठबन्धनको दावी अश्वीकृत भएको जनाइएको छ ।


प्रकाशित | २९ बैशाख २०७८, बुधबार १७:५१