प्रवासी नेपाली एकता मञ्च यूरोपले ५० लाखको कोभिड–१९ च्यालेञ्ज फण्ड खडा गर्ने

लन्डन । प्रवासी नेपाली एकता मञ्च यूरोपको भेलाले नेपालमा कोभिड महामारी बिरुद्ध लड्न ५० लाख रुपैयाँको “कोभिड–१९ च्यालेञ्ज फण्ड” खडा गर्ने घोषणा गरेको छ । कोभिड च्यालेण्ड फण्डबाट नेपालमा अक्सीजन कन्सेन्ट्रटर मेसिन खरिद गर्ने, कोभिड महामारीमा आफ्नो जीवनलाई जोखिममा राखी अनवरत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको सम्मानमा फलफुल तथा खाना वितरण गर्ने र कोभीड–१९ सम्बन्धी जनचेतना अभिबृद्धिमा लगानी गर्ने घोषणा गरेको छ ।

भेलालाई बेलायतस्थित हडस्फिल्ड युनिभर्सिटीका प्रोफेसर डा पदम सिंखडाले नेपालमा कोभिड महामारीको भयावह अवस्था र कोभिड–१९ विरुद्धको लडाईमा विश्वको अनुभव विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको संयोजनमा सम्पन्न भएको भेलामा यूरोपका विभिन्न देशका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा अगुवा नेताहरुको उपस्थिती रहेको थियो ।

भेलामा फिनल्यण्डका अध्यक्ष कोमल पौडेल; स्वीडेनका अध्यक्ष चिरञ्जिवी खरेल; नर्वेका अध्यक्ष विश्वास बजगाई; डेनमार्कका अध्यक्ष शिव चापागाई; जर्मनीका सचिव सनतकुमार गौतम, जर्मनीका सचिवालय सदस्यहरु युवराज अधिकारी, गोविन्दराज पाण्डे, रुद्र केसी र राजेशलाल श्रेष्ठ; बेल्जियमका अध्यक्ष बोधराज पौडेल, सचिव बुद्धि बराल; फ्रान्सका अध्यक्ष भक्तबहादुर वाग्लेक्षेत्री; स्पेनका अध्यक्ष हेम शेर्पा; स्पेनका पुर्व अध्यक्ष तथा एनआरएन यूरोपका डिआरसी मुक्त गुरुङ; पोर्चुगलका अध्यक्ष मदन लिम्बु; साईप्रसका अध्यक्ष लोकराज रोक्कामगर; चेक रिपब्लिकका अध्यक्ष उत्तम आचार्य; यूकेका उपाध्यक्ष सुरेन्द्र थपलिया, महासचिव सुरेशजंग शाह, पब्लिक हेल्थ विभागका प्रमुख राजु न्यौपानेले आ–आफ्नो मन्तव्य तथा सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।


प्रकाशित | २५ बैशाख २०७८, शनिबार १३:४०