पोखरामा अर्को नयाँ बन्जी जम्पको सफल परीक्षण

पोखरा । पोखरामा अर्को नयाँ बन्जी जम्प थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरामा बनाएको बन्जीको हालै सफल परीक्षण गरिएको छ ।

परीक्षणको पहिलो जम्प गो बन्जी (बन्जी जापान ) का संस्थापक बीउ रिटालिकले गर्नुभएको थियो । रिटालिकसँगै बन्जीको सञ्चालनको लागि जापानबाट बन्जी जापानकै जनरल म्यानेजर डेबिड पनि पोखरा आइपुग्नु भएको छ ।

लेक साइडबाट करिब तीन किलोमिटर दुरीमा रहेको बन्जी नयाँ वर्ष सँगै व्यवसायिक सञ्चालनमा आउने बताइएको छ । आठ करोड २५ लाख लगानी रहेको यसमा सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपालबहादुर बराल क्षेत्री रहनुभएको छ ।

अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउलगायत देशमा बन्जी मास्टरको रूपमा लामो समय काम गरी स्वदेश फर्केर हाल आफ्नै समूह बनाएर बन्जीमा लगानी गरेको कम्पनीका अर्का संचालक राजु कुँवरले जानकारी दिनुभयो ।

“आठ जनाको लगानी छ, पोखरामा अन्य बन्जी भए पनि पोखराको लेकसाइडबाट नजिक भएकाले चल्ने सम्भावना देखेर लगानी गरेका छौँ, पोखरा आउने पर्यटक पुग्नुुहुन्छ भन्ने अनुमान गरेको छु’’ कुँवरले भन्नुभयो ।

उहाँका अनुसार लेक साइडबाट करिब तीन किलोमिटर दुरीमा रहेको बन्जी नयाँ वर्ष सँगै व्यवसायिक सञ्चालनमा आएको हो । अहिले ५० प्रतिशत छुट चार हजार पाँच सयमा बन्जी गर्न पाउनेछन् । फोटो भिडियोको दुई हजार पाँच सय लाग्नेछ ।

क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमशृङ्खला हेर्दै जम्प गर्न पाइने भएकाले बन्जीमा आकर्षण बढ्ने अध्यक्ष भट्टराईको अनुमान छ ।

बन्जीको दुई वटा प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा छन् । दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट भएको उहाँको दावी छ । साधारण बन्जी १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइने र साइकल जम्प, बकेट जम्पलगायत विशेष जम्प १०५ मिटर अग्लो प्लेटफर्मबाट गराइने अध्यक्ष भट्टराई बताउनुहुन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जी’ सँगको फ्रेन्चाइज भएकाले गो बन्जीकै प्राविधिक सहयोगमा आइ एस ओ स्ट्यान्ड अनुसार तयार गरिएको भट्टराई बताउँछन् । एड्भेन्चर भएकोले सुरक्षा सावधानीमा जोड दिँदै पेट्जल र मामुट कम्पनीका हार्नेस लगायतका उपकरण प्रयोग गरिएको भट्टराईले बताउनुभयो ।

बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा नेपालमै पहिलो र एसियाकै अग्लो टावर क्लाइम्बिङ सुरु गरिएको बताउँदै भट्टराईले बन्जी परिसरमै रेस्टुरेन्टसमेत निर्माण भएको जानकारी दिनुभयो । गोरखापत्र दैनीक


प्रकाशित | ४ बैशाख २०७८, शनिबार ०७:३२