नक्कली मागपत्र देखाएर चरम ठगी

काठमाडौं:  सरकारले विभिन्न श्रम गन्तव्य देशहरूसँग शून्य लागतको सम्झौता गरिरहे पनि एजेन्टहरूले भने युवासँग सुरुमै चर्को लागतको कबुल गराएर प्रक्रिया अघि बढाउन थालेको पाइएको छ । सरकारले वैदेशिक रोजगारसम्बन्धी ठगीलाई कडाइ गर्न थालेपछि थोरै युवालाई सीमित गन्तव्य मुलुक पठाउने तर सेवा शुल्कको नामका चर्को पैसा असुल्ने क्रम बढ्न थालेको हो ।

कारोबारको सम्पर्कमा आएका सिन्धुलीका एक युवालाई म्यानपावर कम्पनी पुग्नुअघि एजेन्टले नै २ लाख रुपैयाँ लाग्ने र भरपाइ भने १० हजारमात्र दिने शर्तमा प्रक्रिया अघि बढाएको पाइएको छ । ति युवा २ लाख तिरेर १० हजारको भरपाइ लिन मन्जुर भएर भिसाको प्रतीक्षामा छन् । “पैसा भने काम भएपछि मात्र दिनु भनेको छ,” ति युवाले भने “काम राम्रो भएकाले बढी पैसा लाग्ने बताएकोले सो पैसा तिर्न लागेको हो ।”

सरकारले एजेन्ट राख्न नपाउने निर्णय गरे पनि अप्रत्क्ष रुपमा म्यानपावरले एजेन्ट राखिरहेको यसबाट बुझ्न सकिन्छ । पैसाको कारोबार भएको नदेखिए पनि सरकारले अवैधानिक भनेर घोषणा गरेको काम वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको छ । सरकारले १० हजार रुपैयाँको सेवा शुल्क तोकेपछि एजेन्ट तथा केही म्यानपावरलाई धेरै पैसा लिएर थोरै पैसाको भरपाई लिन अझ सजिलो भएको छ । १० हजारको मात्र भरपाई लिएको प्रमाण नै युवा ठगिने मुख्य कारण रहे पनि सरकारले कुनै कदम चाल्न सकेको छैन ।

सरकारले विगत एक वर्षदेखि वैदेशिक रोजगारीका क्षेत्रमा बढेको विकृतिविरुद्ध कडा कदम चाल्न थालेपछि एजेन्टले चर्को मूल्यमा युवा मोलमोलाइ गर्न थालेका छन् । एक वर्षदेखि मलेसियाको रोजगारी रोकिएसँगै विदेश जान चाहने युवा संख्या बढेका कारण ठगीका घटना मौलाउन थालेको हो । वैदेशिक रोजगारीमा सोझा युवालाई झुक्याएर माग नै नआएको नक्कली कागजात देखाएर ठग्ने क्रम बढ्न थालेपछि सरकारले समेत सचेत हुन आह्वान गर्न थालेको छ । यो समाचार आजको कारोबार दैनीकमा गोपाल संग्रौलाले लेखेका छन् ।

वैदेशिक रोजगार विभागमा महानिर्देशक भीष्मकुमार भुसालले कुनै माग देखाएर कसैले वैदशिक रोजगारीमा पठाउने प्रलोभन देखाए श्रम मन्त्रालयको वेबसाइटमा गएर परीक्षण गर्न आह्वान गरेका छन् । “श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेका वेबसाइटमा विदेशबाट आएको सबै मागपत्र हेर्न सकिने बनाएको कारण विदेश जानुअघि परीक्षण गर्न सकिन्छ,” महानिर्देशक भुसालले सामाजिक सञ्जालमा समेत भनेका छन्, “दलालहरूले आकास पातल जोडेर, बढाइचढाइ गरेर, हुँदै नभएको काममा पठाउँछु भन्ने, मिल्दै नमिल्ने तलब पाइन्छ भन्ने र सोझासाझालाई ठग्ने काम भइरहेको छ ।” अब जान चाहेको कामको आधारमा वा देशको आधारमा वा पठाउने कम्पनीको आधारमा वा जागिर दिने कम्पनीको आधारमा कुनै एक ठाउँमा अलिकति अंग्रेजी शब्दको हिज्जे मिलाएर सूचना भर्ने वित्तिकै सत्यतथ्य के हो आइहाल्ने भुसालले बताए ।

“फेसबुक चलाउन सक्नेले वैदेशिक रोजगारीमा जान चाहेको ठाम, काम, दाम, नेपालबाट पठाउने कम्पनी नाम सबैको जानकारी लिनका लागि मन्त्रालयको वेबसाइट फरेनजबमा गएर हेर्न सक्नेछन्,” महानिर्देशक भुसालले भने, “सक्कली मागपत्रका लागि विभागको वेबसाइटमा समेत हेर्न सकिन्छ ।”

 


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार १०:१२