नेपाल र यूएईबीच नयाँ समझदारी : स्थानीय कामदारले पाउनेसरह सेवा सुविधा पाउने

काठमाण्डौ: नेपालले यूएईसँग यसअघि भएको समझदारी प्रतिस्थापन गरी नयाँ नेपाल र यूएईबीच नयाँ श्रम समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आज शुक्रबार नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधन मन्त्री नासेर थानी हम्लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नयाँ श्रम समझदारीले नेपाली कामदारलाई यूएईका स्थानीय कामदारले पाउनेसरह सेवा सुविधाको प्रत्याभूत गरेको, पाँच वर्षसम्मको सेवा अवधिका लागि हरेक वर्षको सेवा वापत २१ दिनका दरले र त्योभन्दा बढी सेवा अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्था सुनिश्चित गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
त्यस्तै महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गरेको छ । राहदानी लगायत व्यक्तिगत परिचयसँग सम्बन्धी कागजात कामदारले साथमा राख्न पाउनेछन् ।

कानूनी विवादमा परेका कामदारले अस्थायी श्रम स्वीकृति लिन सक्ने भएका छन् ।

समझदारीको प्रभावकारी कार्यान्वयन तथा कामदारको विषयमा लाग्ने लागत निर्धारण गर्ने लगायतका विषय दुई देशका प्रतिनिधिहरु संलग्न संयुक्त वैठकबाट तय गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ३१ जेष्ठ २०७६, शुक्रबार १७:५०