कोरोनाको त्रासले भारतबाट स्वदेश फर्किने नेपालीको लर्को

धनगढी । गुजाराका लागि भारत पसेका नेपालीहरु कोरोना भाइरसको त्रासले स्वदेश फर्किन थालेका छन् । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि त्यहाँ गएका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका हुन । भारतबाट फर्किने नेपालीको अहिले गौरीफन्टा नाकामा लर्को नै लाग्ने गरेको छ । केही महिना अगाडि कोरोना महामारीकाबीच यताबाट भारत जानेको भीडभाड थियो । अहिले उताबाट फर्किनेको लर्को लागेको छ ।

कोरोनाको खतरा पुनः बढेको र चैते अष्टमी, बिसु जस्ता पर्व आएकाले स्वदेश फर्केको भारतबाट फर्किने कामदारहरुले बताउनुभएको छ । ‘भारतमा कोरोनाको फेरि त्रास बढेपछि घर फर्के’, कैलालीको गोदावरी नगरपालिका–११ का हर्के भुलले भन्नुभयो । ‘म बसेको ठाउँमा धेरै सङ्क्रमण छैन । तर, चाडपर्व पनि आएको र नाका फेरि बन्द हुने डरले घर फर्किएँ ।’ उहाँले कोरोना महामारी अलि कम भएको बेला भारतको दिल्ली पुगेर केही महिना काम गरेको सुनाउनुभयो ।

नाकाबाट दैनिक हजारको सङ्ख्यामा नेपालीहरु फर्किरहेका गौरीफन्टा नाकामा खटेका सुरक्षाकर्मीले जानकारी दिएका छन् । गत फागुन महिनामात्रै गौरीफन्टा नाकाबाट २१ हजार १११ जना स्वदेश फर्किएका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । यसैगरी, गड्डा चौकी नाकाबाट फागुन महिनामा १७ हजार ८६४ जना नेपाली भित्रिएका छन् । पछिल्लो चार पाँच दिनमा हजारौंको सङ्ख्यामा नेपाली फर्किएका जनाइएको छ ।

भारतबाट फर्किनेहरुमध्ये केहीमा कोरोना भाइरसको सङ्क्रमण पनि देखिएको छ । उनीहरुका कारण सुदूरपश्चिम प्रदेशमा खतरा भएकाले सुरक्षा सतर्कता बढाइएको छ । तर, स्वदेश फर्किने सबैको कोरोना परीक्षण गर्ने गरिएको छैन । उनीहरुको ज्वरो नाप्ने कार्यमात्रै भइरहेको छ । शङ्कास्पद् र भारतमा कोरोना फैलिएको क्षेत्रबाट फर्किने व्यक्तिहरुको एन्टिजेन परीक्षण गर्ने गरेको गौरीफन्टा नाकामा खट्नु भएका पुनर्वास नगरपालिकाका अहेब गणेशबहादुर साउदले बताउनुभयो ।

‘शङ्कास्पद् र बढी कोरोना प्रभावित ठाउँबाट फर्किनेको स्वास्थ्य चेकजाँच गरे पनि फर्किने सबै व्यक्तिको स्वास्थ्य जाँच गर्न सकिएको छैन’, उहाँले भन्नुभयो । ‘प्रशासनले कडाइ नगर्दासम्म त्यो सम्भव पनि छैन ।’ नाकामा पाल टाङ्गेर स्थापना गरिएको हेल्थ डेस्कमा जनशक्ति कम रहेकाले समस्या भइरहेको साउदले बताउनुभयो ।

‘कोही परीक्षण गर्न नै मान्दैनन्’, उहाँले भन्नुभयो । ‘उनीहरु लाइन नलागेर गइहाल्छन् । प्रशासनले कडाई नगर्दासम्म हाम्रोमात्रै प्रयासले सबैको स्वास्थ्य जाँच गर्न सम्भव छैन ।’

छिमेकी राष्ट्र भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि सुदूरपश्चिममा सङ्क्रमण भयावह हुनसक्ने अवस्थालाई मध्यनजर गरेर कञ्चनपुरको गौरीफन्टा, गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको नाकामा सतर्कता बढाउन यसअघि नै प्रादेशिक स्वास्थ्य निर्देशनालयले मातहतका निकायलाई निर्देशन दिइसकेको छ । नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने कार्यहरु भइरहेको छ ।

सङ्क्रमण पुनः देखिएकाले बेलैमा सावधानी नपनाउन आवश्यक रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनुभयो । सावधानी नअपनाइए अवस्था पहिलेको भन्दा पनि भयावह र जटिल हुनसक्ने उहाँको भनाइ थियो । यसअघि पनि भारतबाट नेपाली फर्केपछि प्रदेशमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएको थियो । आजको गोरखापत्र दैनीकमा प्रकाशित समाचार ।


प्रकाशित | १३ चैत्र २०७७, शुक्रबार ०८:३१