आगामी बजेटमा कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने !

काठमाडौं: आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ । आगामी आवको बजेटमा निजामती कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ । मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ । तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरी आन्तरिक गृहकार्य र छलफल थालिएको पुनरावलोकन समितिका एक सदस्यले जानकारी दिएको खबर राजधानी दैनिकले छापेको छ ।

कर्मचारीको तलब वृद्धि तीन वर्षदेखि भएको छैन । बजारको महंगीअनुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि तीन वर्षदेखि सरकारले कर्मचारीको तलब बढाउन सकेको थिएन । तीन वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएकाले यसपटक बढ्ने सरकारकै उच्च अधिकारीले बताउँदै आएका छन् ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०९:०९