नेपालमा फेरि लकडाउन होला ?

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा नेपालमा फेरि लकडाउन हुन सक्ने अड्कलबाजी गरिन थालीएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताइरहँदा पछिल्लो तथ्यांकले लकडाउनको खतरा बढेर गएको देखिन्छ ।

पछिल्लो समय नेपालमा मानिसहरुको अनावश्यक भिडभाड, मास्क नलगाउने र सामाजिक दुरी कायम नगरी भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको पाइन्छ ।

कोरोना महामारीका कारण गत वर्ष यही बेला लकडाउन शुरु भएको थियो । जसले गर्दा लकडाउनले सबै क्षेत्र अस्तब्यस्त बनाएको थियो । अहिले पनि लकडाउनले देशको अर्थतन्त्र नै डाँमाडोल बनाइरहेको छ । कोरोनाकै कारण पर्यटन क्षेत्र अहिले पनि ठप्प प्राप्य छ ।

एक वर्षसम्म आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालको अर्थिक वृद्धिदर समेत माइनसमा पुगेको छ। यस्तोमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ । त्यसैले पोहोरोको लकडाउनले मारमा परेका उद्योगी व्यवसायी फेरि त्यस्तै हुने हो कि भन्ने चिन्तामा छन् ।

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमितको संख्या बढेको भन्दै सरकारले आवश्यक तयारी तीब्र पारेको छ । साथै सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन परिपत्र गरेको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन फेरि पनि आवश्यक पर्ने अवस्थालाई मध्यनजर गरेर अपडेट राख्न परिपत्र गरेको जनाएको छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको बताउँदै नेपालमा जोखिम बढेको बताउनुहुन्छ ।

साथै मन्त्रालयले सबै नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ


प्रकाशित | १२ चैत्र २०७७, बिहीबार १२:१९