हनुमन्ते करिडोर बन्न नदिन माफियाको गिरोह नै लागिपरे: महेश बस्नेत (भिडियो रिर्पोटसहित )

भक्तपुर । पूर्वउद्योगमन्त्री तथा भक्तपुरबाट निर्वाचीत प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हनुमन्ते करिडोर बन्न नदिन माफियाको गिरोह नै लागिपरेको बताउनुभएको छ । भक्तपुरको विकास र समृद्धिको सवैभन्दा महत्वपूर्ण हनुमन्ते करिडोर बन्न नदिन माफियाको गिरोह नै सक्रिय रहेकाले माफियालाई लखेट्न हातमा लाठो लिएर जनता प्रतिकारमा उत्रिनुपर्ने उहाँले बताउनुभयो ।

भक्तपुरमा आयोजीत छ्टाछुटै कार्यक्रममा बोल्नुहुँदै सांसद बस्नेतले आगामी जेठसम्ममा हनुमन्ते करिडोर निर्माण पूरा गर्न नसके दुई अर्ब रकम फिर्ता जाने बताउँदै विकास रोकेर बजेट फिर्ता पठाउन खोज्ने माफियालाई लखेट्न हातमा लाठो लिएर जनता प्रतिकारमा उत्रने बताउनुभयो ।

भक्तपुरमा हनुमन्ते करिडोर निर्माण भएकाले डुबानमा पर्न छाडेको चर्चा गर्दै उहाँले विगत दुई वर्षदेखि करिडोर क्षेत्रमा परेको साख कम्पनीको पर्खाल भत्काउन आयोजनाले ताकेता गर्दा पनि नभत्काएर अवरोध पुर्याएपछि सूर्यविनायक नगरपालिका र जिल्ला प्रशासन कार्यालयले डोजर लगाएर भत्काउनु परेको बताउनुभयो ।

सांसद बस्नेतले ‘भूकम्पले भत्काएको पर्खाल नलगाउन आग्रह गर्दा पनि साख कम्पनीले नमानेको र करिडोर निर्माण रोकिएकाले पर्खाल भत्काउन दुई वर्षदेखि पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेको बताउनुभयो ।

अदालतमा परेको मुद्दा पनि करिडोरकै पक्षमा फैसला भएको र मुद्धा खारेज गरेपछि बाध्य भएर पर्खाल भत्काएर करिडोर निर्माण अगाडि बढाएको उल्लेख गर्दै बस्नेतले सिडिओसहित आफूहरुविरुद्ध फेरि पनि मुद्धा हालीएकोमा आक्रोश ब्यक्त गर्नुभयो ।

उहाँले मुठीभरका केहि ब्यक्तीले करिडोरको विरोध गरेको बताउँदै विभिन्न वहानामा करिडोरको निर्माण कार्य रोक्न खोजीएमा प्रतिकारमा उत्रिने चेतावनी दिनुभयो ।

स्थानीय जनताहरु करिडोर निर्माणको पक्षमा रहेको बताउँदै सांसद बस्नेतले २ अर्ब रकम फ्रिज हुने अवस्था आए भूमाफियालाई जनताले अचार बनाउने बताउनुभयो । सांसद बस्नेतले अबका दिनमा विकास विरोधीको एक एक हिसावकिताव जनताले गर्ने पनि चेतावनी दिनुभयो ।


प्रकाशित | ९ चैत्र २०७७, सोमबार १९:०२