एनआरएनए युवा उपाध्यक्षमा राज रेग्मीको उम्मेदवारी, यस्ता छन् एजेन्डा

दोहा- गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि हुन गइरहेको निर्वाचनमा मध्यपूर्वका युवा संयोजक राज रेग्मीले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । रेग्मीले आगामी कार्यकालको लागि युवा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीको भनाई छ । रेग्मीले भन्नु भएको छ, ‘सन् २०२१–२३ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

एनआरएनए कतार तथा विभिन्न संघसंस्थामा रहेर र अहिले मध्यपूर्व युवा संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसक्नु भएका रेग्मीले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

रेग्मी कतारमा सफल व्यवसायीका साथै समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । गैर आवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागितामूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी युवा उपाध्यक्षका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने प्रतिवद्धता उहाँले ब्यक्त गर्नु भएको छ ।

विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर ग्लोवल एनआरएन सिंगिङ आइडलको आयोजना गर्नु भएका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यमा महत्वपूर्ण योगदान गर्नु भएको छ ।


प्रकाशित | १ आश्विन २०७८, शुक्रबार १८:४७