आज १३ ‌औँ गणतन्त्र दिवस, साँझ घरघरमा दीपावली गरेर मनाउन सरकारको अनुरोध

काठमाडौं : आज १३ औँ गणतन्त्र दिवस मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले १५ जेठ ०६५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष १५ जेठमा विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

गृह मन्त्रालयले ३ दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ ।  मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रूपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रूपमा लिएको छ ।

गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ ।

 


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार ०७:२०