सगरमाथाको सफल आरोहणदेखि मिस शेर्पा विजेता हुँदै क्रोएसियाको यात्रामा दावुटी शेर्पा

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरणसँगै दाबुटी शेर्पाको सफलता एकपछि अर्को चुलिदै गएको छ । दावुटीले सगरमाथाको सफल आरोहणसँगै मिस शेर्पा २०७५ विजेता बन्नुभयो । अब दाबुटी शेर्पा क्रोएसियामा हुन लागिरहेको ‘मिस इन्टरनेसनल टुरिजम’मा भाग लिन त्यसतर्फ जाने तयारीमा जुट्नु भएको छ ।

मिस शेर्पाको ताज जित्न सफल दाबुटी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने पहिलो मिस शेर्पा हुनुहुने भएको छ । विश्वमाझ पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यले आयोजित प्रतियोगितामा नेपालीले पहिलोपटक भाग लिँदै छन्। भ्रमण वर्ष २०२० सफल बनाई २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा सहयोग गर्न नेपालको पर्वतारोहण र अन्य पर्यटकीय क्षेत्रको प्रचारमा जुट्ने तयारी थालेको दाबुटीले बताउनुभयो ।

दावुटी आगामी अप्रिलमा त्यसतर्फ जान लागनुभएको हो । २३ वर्षीया दाबुटीले क्रोएसियामा हुने प्रतियोगितामा भाग लिएर देशको पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गर्नुहुनेछ । नेपाल हिमालै हिमालको देश भए पनि प्रचारप्रसारको अभावले पर्वतीय पर्यटनको विकास हुन नसकेकाले आफूले नेपाललाई चिनाउने लक्ष्य लिएको बताउनुभयो । गौरीशंकर गाउँपालिका–९, सिमीगाउँ दोलखाकी दाबुटीले यसै वर्ष सर्वोच्च शिखर सगरमाथा र विश्वकै कठिनमा तेस्रो मानिने अमादब्लम हिमालको सफल आरोहण गरिसक्नु भएको छ ।


प्रकाशित | १० चैत्र २०७५, आईतवार १६:०३