सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सडक नामाकरण र घर नम्बर दिने कार्य शूरु गर्ने

भक्तपुर: सूर्यविनायक नगरपालिकाले सडकका नामाकरण र घर लम्बर दिने कार्यको थालनी गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा नगर यातायात एमटिएमपी गुरुयोजना तयार भई सकेकाले सडक नामाकरण र जिआइएसका आधारमा ब्लक छुट्टयाई घर नम्बर दिने कार्यको थालनी गर्न बजेट समेत छुट्याइएको छ ।

नगरपालिकाबाट घर निर्माण सम्पन्न भएको प्रमाणपत्र लिँदा प्रत्येक निजी घरधनीलाई कौशीखेतीमा प्रोत्साहन गर्न एउटा कम्पोष्ट बिन उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिने भएको छ ।

त्यस्तै, सघन शहरी बस्ती भएका स्थानमा स्थानमा उपभोक्ता तथा संघ र प्रदेश सरकारसँगको सहलगानीमा खानेपानी तथा ढल निर्माणको लागि आवश्यक बजेट समेत ब्यवस्था गरिएको छ । सडक र अन्य निर्मित संरचनाको नियमित, आवधिक र आकस्मिक मर्मत संभार कार्यलाई योजनावद्ध ढंगबाट कार्यान्वयन गर्न आगामी आ.व.का लागि मर्मत संभार कोषमा रु.७ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

व्यवस्थित शहरको प्रतिकको रुपमा रहने सार्वजनिक शौचालय, कम्युनिटीहल, खेलमैदान,फुटसल, पौडी पोखरी, जिमहल, योगा तथा ध्यान केन्द्र निर्माण र सम्पन्न भएका पूर्वाधार संचालन तथा व्यवस्थापनको दिगोपनाको लागि सार्वजनिक–निजी–सहकारी साझेदारी गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

निजी क्षेत्र र सहकारीसंग समन्वय गरी नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबीच यातायात व्यस्थापन बजेट व्यवस्थापन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।


प्रकाशित | २३ असार २०८०, शनिबार २१:१३