फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्यो, १३ को मृत्यु, ७ जना गम्भीर घाइते

एजेन्सी । भारतको गुजराजस्थित सूरतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किचेको छ । प्रहरीका अनुसार ती सबै मजदुर थिए ।

दुर्घटना सोमबार राती भएको हो । भारतीय मिडिया दैनिक भास्करका अनुसार १२ जनाको घटनास्थलमा नै मृत्यु भएको हो जबकि ८ जनाको स्थिती गम्भीर छ । उपचारको क्रममा अर्का एक जनाको मृत्यु भएको छ । प्रहरीले ट्रक ड्राइभर र क्लिनरलाई पक्राउ गरेको छ ।

भास्करका अनुसार दुर्घटनाका बेला ६ महिनाकी बालिका पनि आमा–बुवासँग सुतिरहेकी थिइन् । दुर्घटनापछि उनी शवको बीचमा थिइन् । प्रहरीले उनलाई तत्काल अस्पताल पुर्याएको छ ।

स्रोतका अनुसार मृतकमध्ये एक राकेश रुपचन्द दुर्घटना स्थलभन्दा केही पर एक पसलमा काम गर्दथे । उनी हरेक दिन पसल नजिकैको एक क्याबिनमा सुत्दथे तर सोमबार उनी क्याबिनमा सुत्नुको साटो मजदुरसँग फुटपाथमा सुतेका थिए र ट्रक दुर्घटनाका कारण उनको मृत्यु भयो । ट्रकको ठक्कर ४–५ वटा पसलमा पनि क्षती पुगेको छ ।
ट्र्याक्टरसँग ठोक्किएर अनियन्त्रित भयोः
प्रहरीका अनुसार ट्रक उखु भरिएको ट्र्याक्टरसँग ठोक्किएको हो । त्यसपछि ट्रकका ड्राइभरले नियन्त्रण गुमाएको र ट्रक फुटपाथमा चढेको हो ।


प्रकाशित | ६ माघ २०७७, मंगलवार १०:०४