संसद विघटन भईसकेको अवस्थामा निर्वाचनमा जानु नै उत्तम विकल्प : कांग्रेस नेता भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद विघटन भईसकेको अवस्थामा अब निर्वाचनमा जानु नै उत्तम विकल्प भएको बताउनुभएको छ । सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्नुहुँदै नेता भण्डारीले संसद विघटनको विषयमा सर्वोच्चले गर्ने फैसलालाई सबैले मान्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।

‘संसद विघटन गर्न पाउनेबारे अहिलेको संविधानमा केही पनि उल्लेख गरिएको छैन, त्यसैले संविधानमा रहेका अस्पष्टताबारे व्याख्या गर्ने सर्वोच्च अदालतले नै हो,’ उहाँले भन्नुभयो, ‘सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई स्वीकार्नु पर्छ ।’

अहिले संसद विघटन हुनु सकारात्मक भन्दै नेता भण्डारीले करिव दुई तिहाई बहुमतको सरकार बनाएको सत्तारुढ दल नेकपामा जनताका बारेमा भन्दा बढी पदकै लागि झगडा भइरहेको बताउनुभयो । उहाँले पदकै झगडाले सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक भएको स्पष्ट पार्नुभयो ।

‘हामीले बनाएको संविधानमा अन्तिम फैसला गर्ने अधिकार सर्बोच्च अदालतको रहनेछ भनिएको छ, त्यसैले अदालतले संसद पुर्नस्थापना गरेमा वा निर्वाचन गर भनेमा जे भनेपनि सबै दलले मान्नुपर्ने छ, अहिले देश क्राइसिसमा छ, क्राइसिसका बिचबाट अवसरहरु पैदा गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।


प्रकाशित | २७ पुष २०७७, सोमबार २०:२२