आजदेखि कांग्रेसको देशव्यापी जागरण अभियान: शीर्ष नेता देशभर परिचालन

काठमाडौं : नेपाली कांग्रेसले आज (बुधबार) बाट देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैैछ । आजदेखि शूरु हुने प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् । अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । अन्य जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यस्तै, सुदूरपश्चिमको धनगढीमा उपसभापति विमलेन्द्र निधि, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव, प्रदेश नं.५ को रुपन्देहीमा महामन्त्री डा. शशाङ्क कोइराला, गण्डकी प्रदेशको पोखरामा अर्का महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नं. २ को धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदेश नं. १ को सुनसरीमा अर्का उपसभापति विजयकुमार गच्छदारले सम्बोधन गर्ने तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रथम चरणको कार्यक्रम आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) का दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । यसैगरी तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (राष्ट्रिय मेलमिलाप दिवस) मा समापन हुने कांग्रेसले जनाएको छ ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार ०८:३७