देश र व्यवस्थालाई असफल हुनबाट जोगाउन प्रतिनिधि सभा विघटन : राम बहादुर थापा

दोलखा । गृहमन्त्री रामबहादुर थापा बादलले देश र व्यवस्थालाई असफल हुनबाट जोगाउन प्रतिनिधि सभा विघटन गर्नुपर्ने अवस्था सृजना भएको बताउनुभएको छ । सरकार र व्यवस्था नै अपदस्थ गर्न खोजिएपछि प्रतिनिधि सभा विघटन गरिएको बताउनुहुँदै नेकपा दोलखाले शुक्रबार चरिकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नभयो, ‘पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको गुटले मुलुक र जनताको बालिदानीबाट प्राप्त लोकतान्त्रीक व्यवस्थालाई नै ध्वस्त बनाउने प्रयास गरेपछि प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु परेको हो ।’

नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री बादलले सरकार चुनावको तयारीमा लागेकोले प्रतिनिधि सभा पुर्नस्थापनाको औचित्यता समाप्त भईसकेको बताउनुभयो । उहाँले सबै नेता कार्यकर्तालाई चुनावमा केन्द्रीत हुन निर्देशन पनि दिनुभयो । अब नयाँ जनमत सहितको संसद स्थापना हुने बादलको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पुरानो संसदको राजनीतिक औचित्य समाप्त भएकोले विघटित संसद पुनस्र्थापनाले देशलाई थप अस्थिरतामा धकेल्छ । संसदको पुनस्र्थापनाले प्रतिगमनलाई नै सहयोग गर्छ, नयाँ संसदले मात्रै देशमा स्थायित्व ल्याउँछ भन्ने निष्कर्षमा पुगेर संसद विघटनका साथै नयाँ जनादेशमा जाने निर्णय भएको छ, अब तपाईहरु चुनावका लागि तयारी अवस्थामा रहनुस ।’

कार्यक्रममा सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत, नेकपा बागमती प्रदेश कमिटी सचिव एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल विघटित प्रतिनिधिसभा सांसद शान्ति पाख्रिन लगायतले मनतब्य राख्नुभएको थियो ।


प्रकाशित | २४ पुष २०७७, शुक्रबार २०:३४