ठाकुर र महतोसँग भेटेलगत्तै देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाउनु भएको छ । बिहीबार बिहान जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई बुढानिलकण्ठमै भेटवार्ता गर्नु भएका देउवाले अपरान्ह ४ बजेका लागि पार्टी पदाधिकारी बैठक राख्नु भएको हो ।

काँग्रेसका एक नेताले दिएको जानकारीअनुसार पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ ।

उक्त समयभित्र पार्टीले सरकारका लागि दाबी गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्न देउवाले पदाधिकारी बैठक राखेका हुन् । देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र तयार भए पनि जसपाको महन्थ ठाकुर पक्षले सहमति दिइसकेको अवस्था छैन ।


प्रकाशित | ३० बैशाख २०७८, बिहीबार १३:५६