काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । चालु शैक्षिक सत्र सकिन तीन महिना मात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने तयारी गरेको हो ।
शिक्षा मन्त्रालयको निर्देशनअनुसार महानगरका विद्यालयले गत असारदेखि अनलाइन कक्षा चलाइरहेका छन् । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको शिक्षक तथा अभिभावकले बताउँदै आएका छन् ।
कतिपय विद्यालयले भने महानगरको बन्देजका बाबजुद भौतिक कक्षा चलाइरहेका छन् । ती विद्यालयले व्यवस्थापन समिति, शिक्षक र अभिभावकको साझा पहलमा पठनपाठन गरेको जनाएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार काठमाडौं जिल्लामा १ हजार ४ सय १५ विद्यालय छन् । तिनमा १ हजार १ सय ४० निजी र २ सय ७५ सामुदायिक छन् ।
महानगरपालिकाभित्र ९३ सामुदायिक र ६ सय ४२ निजी विद्यालय रहेको इकाइ प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो । उपत्यकाका अन्य नगरपालिकाले पनि भौतिक कक्षा सञ्चालनका निम्ति अनुमति दिइसकेका छन् ।
प्रकाशित | २४ पुष २०७७, शुक्रबार ११:०८