काठमाडौं : नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ। भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो। १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।
नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको बताउनुभयो । नेपालमा भेटिएका १०२ संक्रमित मध्ये ३० जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। तर, डिस्चार्ज भएका ३० जनामध्ये ३ जनामा पुन: संक्रमण देखिएको छ।
नेपालमा गएको २४ घण्टामा १ हजार ८ सय ५९ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ७० हजार २३ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ। १५ हजार ४ सय ९२ जनाको पिसिआर र ५४ हजार ५ सय ३१ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
संक्रमितमध्ये ७४ पुरुष र २८ महिला छन्। हालसम्म ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उपचाररत ७२ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र ३ र बाहिर १ सय ३२ गरी कुल १ सय ३५ जना अस्पतालको आइसोलेसनमा छन्। मुलुकभर हाल १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित | २६ बैशाख २०७७, शुक्रबार १८:०५