अब काठमाडौँ हिलो र धुलोमुक्त हुन्छः विद्यासुन्दर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौँलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताउनु भएको छ ।
काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै मेयर शाक्यले मेलम्ची खानेपानी विस्तारको आयोजना सम्पन्न नहुँदा काठमाडौँ महानगरको धेरै बजेट सडक खन्ने र पुर्ने खर्च हुँदै आएको बताउनु भयो ।
समझदारी–पत्रमा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गर्नु भएको थियो ।
शाक्यले स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्न, मानवीय नगर बनाउन सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्न लगायतमा पनि यो सम्बन्धले सहयोग पुग्ने अपेक्षा लिएको बताउनु भयो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका र प्राकृतिक श्रोत साधन सम्पन्न पर्यटकीय नगर मेलम्चीबिच भगिनी सम्बन्ध स्थापना गरेको महानगरपालिकाले जानकारी दिएको छ ।
भगिनी सम्बन्ध स्थापना लगत्तै काठमाडौँ महानगरपालिकाले आ.व.२०७७÷०७८ को स्वीकृत बजेट अन्तर्गत नगर–नगर साझेदारी कार्यक्रम कार्यान्वयन गर्न भगिनी सम्वन्ध स्थापना भएको सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकासँगको सहकार्यमा पर्यटकीय स्थलका रुपमा विकास गर्न मेलम्ची सिटी पार्क निर्माण गर्ने गरी यो सम्झौता गरेको छ ।


प्रकाशित | २२ पुष २०७७, बुधबार १५:२३