‘राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुर्याउने गरी सडकमा नाराबाजी हुनु निन्दनीय’

‘राजनीतिक एजेण्डाविना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनकै तयारी’

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डाबिना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भईरहेको बताउनु भएको छ ।

“विनाराजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन,” मन्त्री गुरुङले राजनीतिक दलहरुले निर्वाचन भएरै छाड्ने भन्ने मनोविज्ञान जनतालाई दिन आन्दोलन गरिरहेको वताउनुभयो ।

अब मुलुक निर्वाचनमा गैरहेको वताउदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समूदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गर्नुभयो ।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिनुभयो ।

सरकारलाई कतिपयले काम चलाउ भन्ने गरिएको सन्दर्भमा उहाँले यो सरकारले संविधान अनुसार पूर्णअधिकारसहितको कार्य गरिरहेको स्पष्ट पार्नुभयो । कर्मचारी तथा कुनै पनि वर्ग समुदायलाई सरकारको काम कार्वाहीप्रति कुनै पनि भ्रममा नपर्न अनुरोध समेत गर्नु भयो ।

राष्ट्रपतिमाथि अपमान खेदजन्य

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुुयाउने गरी सडकमा नाराबाजी हुनु निन्दनीय भएको भएको उल्लेख गर्दै आपत्ति जनाउनुभयो ।

उहाँले सम्मानित राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानुन र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने कोशिस भईरहेको बताउँदै राजनीतिक दल र राजनीतिक समुहहरुलाई जिम्मेवार हुन अनुरोध पनि गुर्नभयो ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार १९:५२