कतारमा श्रम शोषणा गर्ने म्यानपावर कम्पनीहरुको लाइसेन्स धमाधम खारेज हुँदै

दोहा – कतारमा श्रम शोषणा गर्ने म्यानपावर कम्पनीहरुको लाइसेन्स धमाधम खारेज हुन थालेको छ । श्रम मन्त्रालयले रोजगारदाताले करार सर्त पालना नगरेको र कानुन उल्लंघन गरेको भन्दै विभिन्न २४ म्यानपावर कम्पनीहरुको लाइसेन्स खारेज गरेको केहि दिन बित्न नपाउँदै फेरि अलखतीर म्यानपावर कम्पनीको पनि लाइसेन्स खारेज गरिदिएको छ । 

मन्त्रालयले सरसफाई तथा आतिथ्य सेवा उपलब्ध गराउने र अनुमति नलिई घरघरमा काम गर्ने घन्टा प्रणालीमा राखेर कामदारलाई शोषण गर्ने जस्ता विभिन्न क्षेत्रमा कम्पनीको संलग्नता देखिएका कारण लाइसेन्स निलम्बन गरिएको जनाएको छ ।

मन्त्रालयले रोजगारदाताको हक अधिकार संरक्षणका लागि श्रम कानूनको कार्यान्वयन र सम्बन्धित निर्णयको पालना भए नभएको अनुगमनका लागि म्यानपावर कार्यालयमा अभियान सञ्चालन गर्दै आइरहेको छ ।

मन्त्रालयले सबै नागरिक र बासिन्दाहरूलाई म्यानपावर कार्यालयहरूबाट कुनै पनि दुर्व्यवहार वा उल्लङ्घनहरू गरिएको पाइएमा रिपोर्ट गर्न पनि आग्रह गर्दै आइरहेको छ ।

पछिल्ला केही वर्षहरूमा कतारले श्रम बजारमा धेरै सुधारहरू गरेको छ । २०२१ मा कतारले पहिलो पटक गैर भेदभावपूर्ण न्यूनतम ज्याला सम्बन्धी कानून बनाएको थियो ।

यस अन्तर्गत रोजगारदाताहरूले आफ्ना कामदारहरूलाई खानाको लागि रियाल तीन सय, आवासको लागि रियाल पाँच सय र न्यूनतम मासिक आधारभूत पारिश्रमिक रियाल १ हजार तिर्न बाध्य छन्।

न्यूनतम ज्याला कानूनको पालना नगर्ने रोजगारदातालाई एक वर्षको जेल सजाय र १० हजार रियालसम्म जरिवाना तोकिएको छ । 

एमओएलले श्रम कानूनको सार्वजनिक उल्लङ्घनलाई सम्बोधन गर्नका लागि मे २०२१ मा कामदारहरूको गुनासोहरूको लागि नयाँ डेक्स स्थापना गरेको थियो ।

डिसेम्बर २०२१ मा मात्रै एमओएलले अन्य उल्लङ्घनहरू सहित काम गर्ने घण्टा र तलब सम्बन्धी २ हजार भन्दा बढी श्रमिकहरुको उजुरीहरू प्राप्त गरेको थियो ।


प्रकाशित | ६ चैत्र २०७८, आईतवार २२:४६