लगानीकर्तामा विश्वास बढेपछि सेयर बजारमा उछाल : कारोबार १ अर्ब भन्दा माथि

काठमाडौं: नयाँ वर्ष लागेसँगै निरन्तर बढेको शेयर बजार आजसम्म जारी छ । पछिल्लो केहि दिनमा लगानीकर्ताको विश्वास बढेर शेयर बजारमा अर्बभन्दा माथिको कारोबार हुन थालेको छ । लगानीकर्तामा विश्वास बढेपछि साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । आइतबार ३२ अङ्क बढेर नेप्से परिसूचक १ हजार २६४ अङ्कमा पुगेको छ ।

आइतबार बजार बुलिस भएपछि कारोबार रकम बढेर १ अर्ब रुपैयाँ कटेको छ । ३३ लाख २७ हजार ४८० कित्ता सेयर १ अर्ब २ करोड ४ लाख रुपैयाँ कारोबार भएको छ । आइतबार नेपाल बैङ्कको सबैभन्दा बढी सेयर किनबेच भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३१३ रुपैयाँमा १४ करोड ८० लाख २७ हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यस्तै एनआईसी एसिया बैङ्कको प्रतिकित्ता ४९२ रुपैयाँमा ४ करोड ३९ लाख ९९ हजार रुपैयाँमा किनबेच भएको छ । निर्जीवन बिमा र उत्पादनबाहेक सबै परिसूचक उकालो लागेको छ । आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैङ्क र नेपाल एसबीआई बैङ्कका लगानीकर्ताले कमाएका छन् ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १७:१४