पदभार सम्हाल्दै अर्थमन्त्री खतिवडाले भने- निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्छु

काठमाडौँ : मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गर्नुभएको छ ।

खतिवडाले अर्थसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी पाउनुभएको छ । बिदा भएको ठीक २४ घण्टापछि खतिवडा पुनः अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा सिंहदरबार प्रवेश  गर्नुभएको हो ।

अपराह्न सपथ लिए लगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभर ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रको खुलेरै प्रशंसा गर्नुभयो । निजी क्षेत्रबाट आलोचीत भइरहे पनि पुन: मन्त्री दोहोरिएपछि मन्त्री निजी क्षेत्रप्रति निकै सकारात्मक देखिनुभएको हो ।

खतिवडाले निजी क्षेत्रको विश्वास जितेर अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्दै भन्नुभयो, ‘राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने र सरकारी अभियानमा हातेमालो गर्नेहरूसँग अझै सहकार्य गर्नु छ । निजी क्षेत्रको प्रतिफल र लगानी दुवै बढाउनु छु’, उहाँले भन्नुभयो ।

खतिवडाले भन्नुभयो, ‘बजेट निर्माण, आर्थिक नीतिहरु अगाडि बढाउने सन्दर्भमा विकास प्रशासन, सामाजिक न्याय, समानताको लडाइ लड्ने म एउटा योद्दा हुँ । योद्दा लडाइँमा त्यो बेलासम्म लडिरहन्छ, जुनबेलासम्म कमाण्डरले फर्किएर आउ भन्दैन वा युद्ध जित्दैन । मेरो कार्यकाल पनि त्यही हो, जबसम्म युद्ध जितिँदैन या कमाण्डरले फिर्ता आउ भन्दैन, तबसम्म मुलुकका गरिबी, अभाव, अन्यायविरुद्ध लडिरहने छु । त्यसै भएकाले यसको कुनै समय सीमा हुँदैन ।’

 

 


प्रकाशित | २१ फाल्गुन २०७६, बुधबार २०:००