आजबाट अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (एफईआईमीएस) बाट शुक्रबार (जनवरी १) देखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । यो व्यवस्थासँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिले पुनः श्रम स्वीकृति (रिइन्ट्री) लागि श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने छन् । यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका श्रमिक बढीमा दुई पटकसम्म लाभ लिन सक्नेछन् ।
विभागका अनुसार यसरी अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्य १७ पुस अर्थात (सन् २०२१ जनवरी ०१) बाट सुचारु हुनेछ । एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक आइरिक्स (आँखाको स्क्यान वा औँठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाले अनलाइन पुनः श्रम स्वीकृति सेवा लिन सक्ने छन् ।
त्यस्तै अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि सेवा प्राप्त गर्न वैदेशिक रोजगार विभागको वेबसाइटबाट अनलाइन श्रम स्वीकृतिमार्फत फारम भर्नुपर्नेछ ।
श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन रिजेक्ट भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउन्टमा सूचना जाने भएकाले आफ्नो मोबाइल नं र इमेल ठेगाना सही भर्नुपर्ने छ । त्यस्तै श्रम स्वीकृतिका लागि आवेदन गर्दाको युजर नाम र पासवर्ड सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ ।
श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफईआईएमएसको युजर एकाउन्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुने भएकाले आवेदक आफैँले आवश्यकता अनुसार प्रिन्ट गर्न सकिने विभागले जनाएको छ ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार १३:५९