५ वर्षपछि प्रत्येक वर्ष ३५ लाख पर्यटक भित्र्याउने उद्देश्य छ : योगेश भट्टराई (अन्तर्वार्ता )

सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित बुधबार नेपाल भ्रमण वर्ष–२०२० को औपचारिक शुभारम्भ गर्दैछ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ १ जनवरी २०२० अर्थात् आजै काठमाडौंको दशरथ रंगशालामा भव्यताका साथ हुँदैछ । सरकारले आजै ७ वटै प्रदेशमा एकसाथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भको तयारी गरिरहेको छ । नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भको दिन सबैलाई देशैभरि दीपावली गरेर स्वागत गर्न आह्वान गरेको छ । सबै सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कूटनीतिक नियोगका कार्यालयमा सबैले दीपावली गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् । पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्नेछौं । २०२० देखि २०३० लाई पर्यटन दशकका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा अगाडि सारेका मन्त्री भट्टराईले पर्यटनबाट नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । १५औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ । भ्रमण वर्षको तयारी, मन्त्रालय मातहतका संस्थानको अवस्था, सरकारले पर्यटन र उड्डयन क्षेत्रका भावी दिनका योजनामा केन्द्रित रही संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सम्पादीत अंश

नेपाल भ्रमण वर्ष–२०२० को एक वर्षको अवधिमा मन्त्रालयले सरकारले लिएको लक्ष्य प्राप्तिका लागि के–के काम गर्ने योजना छ ?

एक वर्षमा २० लाख पर्यटक ल्याउने हाम्रो लक्ष्य छ । हामी कहाँ पर्यटक आउने देशहरूमा प्रचारप्रसारहरू बढाइरहेका छौं । ती गन्तव्यहरूमा वर्षभरि नै हामीले प्रचारप्रसार गर्छौैं । र, धेरैभन्दा धेरै पर्यटक ल्याउने प्रयास गर्नेछौं । साथै देशभित्र पर्यटन संस्कृति बढाउनका लागि तालिमहरू पनि दिन्छौं ।

नेपाल भ्रमण वर्ष–२०२० ले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको अभियानमा कस्तो योगदान पु-याउने अपेक्षा गर्नुभएको छ ?

पर्यटनले अहिले मुलुकको जीडीपीमा जम्मा ३ प्रतिशत योगदान गरिरहेको छ । यसलाई बढाउनुपर्नेछ । १५औं पञ्चवर्षीय अवधिमा यसलाई बढाएर १० प्रतिशत पु-याउनुपर्ने भएको छ । साथै, पर्यटकले गर्ने दैनिक खर्च ४४ डलरमात्रै छ । यसलाई बढाएर ८० डलर पु-याउनुपर्नेछ । घुम्ने अवधि पनि घटेको छ, त्यसलाई बढाउनुपर्नेछ । साथै, पर्यटन क्षेत्रबाट बर्सेनि डेढ लाख रोजगारी सिर्जना गर्नुपर्ने भएको छ । पाँच वर्षपछि पुग्दा हामी प्रत्येक वर्ष ३५ लाख पर्यटक नेपाल भित्रिनुपर्छ भन्ने उद्देश्य छ । यसलाई राष्ट्रिय अभियान र भ्रमण वर्षको दशककै उत्सवका रूपमा लैजानुपर्ने र यसमा रोजगारीका अनेकन अवसर सिर्जना गर्नुपर्छ । त्यसैले भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटक ल्याउन सबैले साथ दिनुपर्छ ।

सरकारले हवाई पूर्वाधारमा जोड दिनुपर्ने भएको छ । नयाँ विमानस्थल निर्माणमा पनि जोड दिएका छौं । भैरहवास्थित गौतम बुद्ध विमानस्थलको निर्माण ९५ प्रतिशत सकिएको छ । पोखराको विमानस्थल २०२० को डिसेम्बरसम्म पूरा हुन्छ । त्रिभुवन विमानस्थलमा पनि स्तरोन्नति गर्नुपर्ने काम भइरहेको छ । निजगढ विमानस्थललाई पनि हामीले पाइपलाइनमा राखेका छौं । त्यो राष्ट्रिय गौरवको आयोजना भएकाले त्यो काम पनि हुनेछ । साथै सडक पूर्वाधारमा पनि सरकारले उचित ध्यान दिँदै जानेछ ।

विदेशी पर्यटकले नेपाल किन भ्रमण गर्ने र यसका लागि हामीले कस्तो खाले गन्तव्यको विकास गर्ने योजना बनाएका छौं, भावी दिनका योजना के–कस्ता छन् ?

पर्यटकहरू बिदा मनाउन आउने हो, छुट्टी मनाउनका लागि आउने हो, रमाउन आउने हो । त्यसका लागि नेपाल उपयुक्त छ । किनभने त्यसका लागि हामीसँग प्रकृतिका हिसाबले विविधतायुक्त छ । नेपालको भू–बनोट हिमालदेखि पहाड र तराइसम्म छ । सांस्कृतिक हिसाबले पनि सानो देश भइकन पनि अत्यन्तै विविधतायुक्त संस्कृति हामीसँग छ । ऐतिहासिक सम्पदा पनि नेपालमा छन् । मूलतः यो क्षेत्रमा दुईवटा प्रमुख धर्महरू हिन्दू धर्म र बुद्ध धर्मको मुख्य स्रोत नेपाल हो । बुद्ध धर्मका हिसाबले बुद्ध जन्मिएको नेपालमा हो, लुम्बिनीमा हो । त्यसकारण बुद्ध धर्म मान्नेहरूका लागि पनि पवित्र तीर्थस्थल हो भने हिन्दू धर्म मान्नेहरूका लागि पनि पशुतपतिनाथ मन्दिर पवित्रस्थल हो । साथै अन्य जाति, धर्म र संस्कृतिका मानिसहरू यहाँ अपहेलित हुनुपर्ने, त्यो महसुस गर्नुपर्ने कारण छैन । सबैका लागि नेपाल खुल्ला र सुरक्षित छ ।

नेपाल युरोपियन युनियनको कालोसूचीमा छ, अझैसम्म सुधार हुन सकेको छैन । के तयारी भइरहेको छ ?

के कारणले हो, ईयूले सेफ्टी लिस्टमा राखेको छ । यो उहाँहरूले नै जान्ने कुरा हो र हाम्रो आकाश सुरक्षित नै छ । सानातिना दुर्घटनाहरू विश्वमा जहाँ पनि हुन्छन्, ती समाचारहरू हामीले सुनेकै पनि हो । नेपालमा पनि सानातिना दुर्घटना भइरहेका हुन्छन् । तर, पछिल्ला दिनमा यसको संख्या उल्लेख्य रूपमा हामीले घटाएका छौं । हाम्रो अनुगमनलाई नियमित गरेका छौं । कडाइ बनाएका छौं । युरोपियन युनियनले नेपालको नागरिक उड्डयन प्राधिकरणको कार्यक्षेत्रलाई लिएर प्रश्न उठाउनुभएको हो । लोकतान्त्रिक राज्यले जहिले पनि शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्छ । र, त्यसमा अनुगमन गर्ने एउटै निकाय हुँदैन । त्यसलाई छुट्याउनुपर्छ । राज्यको पनि आफ्नै दायित्व हो । त्यसकारण हामीले योभन्दा अगाडि नागरिक उड्डयन प्राधिकरणले सेवा पनि दिइरहेको र त्यसको अनुगमन पनि गरिरहेको सन्दर्भमा अनुगमन गर्ने र सेवा गर्ने दुईवटा अलग–अलग संस्था बनाइन्छ । त्यसको कानुन ड्राफ्टलाई मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भएको छ । त्यसलाई छिट्टै हामी संसद्मा पेस गर्छौं र कार्यान्वयनको चरणमा जान्छौं ।

देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो चाप कम गर्न वैकल्पिक विमानस्थलको कुरा धेरै अगाडिबाट कुरा उठेको भए पनि मुक्त रूप पाउन सकेको छैन । यस सन्दर्भमा मन्त्रालयको भावी योजना के छ ?

अहिले आन्तरिक बाह्य दुवै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको छ । यसले त्यहाँ अत्यधिक चाप बढाएको छ । ट्राफिक बढ्ने र आकाशमा होल्डको समस्या छ । त्यसलाई सुधारका लागि प्रयन्त गरिरहेका छौं । विशेषगरी लुक्ला फ्लाइटलाई रामेछापको मन्थलीबाट गर्न सुरु गरेका छौं । त्यसले केही हदसम्म यहाँको ट्राफिक चापलाई कम गराएको छ । लुक्ला जानका लागि यहाँबाट मन्थली जानुप-यो र त्यहाँबाट लुक्ला जानुप-यो । यसले पर्यटकलाई केही सास्ती भएको छ । सास्ती भए पनि हामीसँग अर्को विकल्प छैन । त्यसकारणले नै आन्तरिक र बाह्यको दुवैको उपयुक्त समाधान भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हो । त्यो विमानस्थल बनाउनैपर्छ । त्यसका निम्ति सरकार अगाडि बढिसकेको छ । निजगढ विमानस्थल निर्माण सुरु भएको मितिले ४ देखि ५ वर्षसम्म हामी तयार पार्छाैं । त्यसका लागि हामी लागिपरेका छौं । नागरिक उडड्यन प्राधिकरणले वैकल्पिक विमानस्थलको सम्भाव्यता र अध्ययनका लागि यस वर्ष बजेट नै तर्जुमा गरेर काम गरिरहेको अवस्था छ । उपत्यका र रामेछाप कहाँ उपयुक्त विमानस्थल बनाउँदा सबै तवरबाट उपयोगी हुन्छ भन्ने विषयमा चाँडै निक्र्योल हुने कुरामा म विश्वस्त छु ।

निजगढ विमानस्थल निर्माणमा धेरै विवाद भयो, के भएको हो ?

निजगढ विमानस्थलमा कुनै विवाद छैन । यो विवाद भएको होइन, विवादित बनाइएको हो । त्यसलाई विवादित बनाउनुपर्ने केही आवश्यकता छैन । नेपालमा काठमाडौं राजधानीलाई नजिक बनाएर अर्को एउटा अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भन्ने कुरा धेरै अघिको अध्ययन हो । त्यो अध्ययनले देशका विभिन्न ठाउँमा विमानस्थलका सम्भाव्यताका बारेमा स्थलगत अध्ययन ग-यो र अन्तिममा निजगढ सबैभन्दा उपयुक्त स्थान रह्यो । त्यसैले निजगढ हरेक हिसाबले उपयुक्त छ । त्यहाँ हामीले बनाउँछौं । जहाँसम्म वातावरणको चासो छ । वातावरणको कुरामा कमभन्दा कम क्षति हुने गरी निजगढमा सरकारले अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउँछ ।

मन्त्री पद बहालीसँगै नेपाल वायु सेवा निगमलाई वाह एयरलाइन्स बनाउँछु भन्नुभएको थियो, त्यो प्रक्रिया कहाँ पुगेको छ ? निगमले भएका गन्तव्यमा त प्रभावकारी उडान भर्न नसकेको अवस्था छ भने नयाँ गन्तव्यमा उडान भर्न सकेको छैन, भएका विमानलाई पनि उडाउन सकेका छैनौं । यस सम्बन्धमा मन्त्रालय अब कसरी अगाडि बढ्छ ?

नेपाल वायु सेवा निगमलाई हामीले सार्वजनिक कम्पनीमा रूपान्तरण गर्ने भन्ने मन्त्रालयको सोच छ । त्यसले सार्वजनिक संस्थाको पनि लगानी नेपाल एयरलाइन्समा हुन्छ । त्यसले अपनŒव सबैले अनुभव गर्छन् । साथै व्यवस्थापन र त्यहाँभित्र देखिएका सबै विकृति व्यवस्थापन र समाधानका लागि प्रक्रिया अगाडि बढ्छ । थप विमान खरिद गर्नुपर्नेछ, अहिले भएकाले पुग्दैन । देशभित्र र अन्तर्राष्ट्रिय उडानका लागि विमानको संख्या हामीले थप्नुपर्ने भएको छ । तराई र पहाडमा उडान गर्ने संख्या हामीले थप्नुपर्छ । र, ती विमान थप्ने प्रक्रियासँगै सार्वजनिक कम्पनीमा रूपान्तरण गर्नुपर्ने र व्यवस्थापन सुधारको प्रक्रिया हामीले आन्तरिक ढंगले यसको गृहकार्यमा लागेका छौं । यसको परिणाम केही दिनमा आउँछ । निगमले नयाँ गन्तव्यमा उडानको तयारी गरिरहेको छ । जापान, साउदीमा निगमले चाँडै उडान गर्ने प्रक्रिया अगाडि बढाएको मैले पाएको छु । निगमको व्यवस्थापनमा व्यापक सुधार गर्नुपर्नेछ, चाँडै निगमका सम्बन्धमा मन्त्रालयले सुधारात्मक निर्णय गरेर अगाडि बढ्नेछ ।

निगमको नेतृत्व परिवर्तन गर्ने कुरा पनि धेरै आएको छ, यस विषयमा मन्त्रालयले केही गृहकार्य गरेर निगमको नेतृत्व परिवर्तन गर्ने मनसाय बनाएको भन्ने बुझिन्छ, यस सम्बन्धमा मन्त्रालयको धारण के छ ?

यो कुनै ठूलो कुरा होइन । त्यही रहन पनि सक्छ । परिवर्तन हुन पनि सक्छ । अब कुनै परिस्थिति आयो र परिवर्तन गर्नुपर्ने भएमा सबैले समझदारी बनाएर त्यसलाई सहज रूपमा लिनुपर्छ । यो संस्थाको व्यापक सुधार आवश्यक छ, सरकारले गृहकार्य गरिरहेको अवस्था छ, जुनसुकै बेला सरकारले हस्तक्षेप गरेर सुधारको अवश्यकता महसुस भएको छ । यसका लागि सरकार उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने गरी सरकार उपयुक्त मौका र समयको प्रतीक्षमा रहेका छौं ।

लामो समयपछि देशको एकमात्र त्रिभुवन विमानस्थलको स्तरोन्नति भएको छ, नेपाल भ्रमण वर्षलाई सहयोग पु-याउन विमानस्थल आगामी दिनका कसरी सञ्चालन गर्ने योजना छ ?

विमानस्थलमा ट्याक्सी वेको काम हामीले भनेको समयभन्दा अगाडि सक्यौं । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विगतमा जस्तै २१ घण्टा सञ्चालनमा आउनेछ । जनवरी १ अर्थात् आजबाट विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याउनेछौं, साथै आवश्यक परेछ भने यो विमानस्थल चौबीसै घण्टा सञ्चालनमा ल्याउन सकिन्छ । यदि कुनै विमान कम्पनीले त्यो समयमा उडानको अनुमति लिन्छन् भने हामी त्यो सुविधा पनि दिन सक्ने भएका छौं । यसका लागि हामी तयार छौं । तर यतिले मात्रै पुग्दैन, त्यहाँ थप पूर्वाधार थप्ने, टर्मिनलहरू बनाउने काम पनि बाँकी छ । यो पार्किङ क्षेत्र विस्तार गर्ने जस्ता कामहरू निरन्तर रूपमा अगाडि बढिरहन्छन् । लामो समयपछि विमास्थलको धावनमार्ग स्तरोन्नति भएको छ । यसले उडान अवतरणमा थप सहज बनाउनेछ ।

नेपाल भ्रमण वर्षको सुरुवातमै पर्यटन प्रवद्र्धन गर्ने संस्था नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन अवस्थामा छ, यस्तो अवस्थामा सरकारले भ्रमण वर्षलाई कसरी परिचालन गर्छ, पर्यटन बोर्डको आगामी नेतृत्व कसरी चयन हुन्छ ? नेतृत्व छनोटमा ढिलाइ भएन र ?

पर्यटन बोर्डको नेतृत्व छनोटका लागि बोर्डको आफ्नै प्रक्रिया छ । आफैँ निर्णय गर्ने हो । बोर्डले छनोट समिति बनाएको छ । त्यो उहाँहरू आफैंले छनोट गर्नुहुनेछ । संयोगले बोर्डको नेतृत्वको समयावधि यसै समयमा परेको छ । तर, नेपाल पर्यटन बोर्डकोे निर्देशकहरूको समूह, भ्रमण वर्ष सचिवालय र मन्त्रालयको समन्वयमा भ्रमण वर्षको तयारी पूर्ण रूपमा भइ नै रहेको छ, साथै हामीले (निवर्तमान बोर्डको नेतृत्व (सीईओ) लाई समन्वयकारी भूमिका निर्वाह गर्न भनेका छौँ र गरिरहनुभएको छ ।

भूकम्पपछिको पुनर्निर्माणले पनि सुस्तता छाएको छ, भ्रमण वर्षको सुरुवातमा हामीले कति सम्पदाको निर्माण पूरा गर्न सकेका छौं ?

अहिले करिब ८ सय ५० वटाजति सांस्कृतिक महत्वको क्षेत्रमा भूकम्पले क्षति गरेको थियो । अहिले करिब ४ सयवटा जतिमा पुनर्निर्माण भइसकेको छ । बाँकी प्रक्रियामा छन् । दुई वर्षभित्र सबै सांस्कृतिक सम्पदाको क्षेत्रमा पुनर्निर्माणको काम सकिन्छ ।

हाल नेपालभर ५५ वटा विमानस्थल छन् । विमानस्थल आवश्यक नभएको ठाउँमा पनि चुनावी एजेन्डा बनाएर पहुँचको भरमा विमानस्थल बनाउनका लागि बजेट विनियोजन गरेर दबाब कायम रहेको छ । यस सम्बन्धमा यहाँको भनाइ के छ ?

राजनीतिक मागका आधारमा मात्रै विमानस्थल बन्दैन । आवश्यकता र औचित्यका आधारमा विमानस्थल बन्न सक्छ । पहिले प्राथमिकता भएका विमानस्थललाई सुचारु गर्ने हो । भएका विमानस्थलको स्तरोन्नति गर्ने हो र अति आवश्यक भएको ठाउँमा नयाँ विमानस्थल बनाउने हो । सरकारको योजना पनि छ र हाम्रा आन्तरिक विमानस्थलको थप सुदृढीकरणका लागि अहिले पनि काम गरिरहेका छौं ।

अन्त्यमा मन्त्रालय मातहतका निकायहरूमा जनशक्ति परिचालन र व्यवस्थापन प्रभावकारी हुन सकेको छैन । यसलाई सुधार्नका लागि यहाँको नीति–निर्देशन के छ ?

हाम्रा कर्मचारी साथीहरूलाई निरन्तर उत्साही बनाइरहेका छौं । आवश्यक तालिमको व्यवस्था छ । विदेश भ्रमणको पनि व्यवस्था गरेका छौं । भोलिका दिनमा पनि त्यो लागू हुन्छ ।

भ्रमण वर्षका लागि सन्देश के छ ?

नेपाल भ्रमण वर्ष २०२० लाई नेपालको पर्यटन प्रवद्र्धनका लागि एउटा आधार वर्ष बन्नेमा विश्वास लिएको छु । तर, आगामी १० वर्षमा नेपालको पर्यटनका लागि काम गर्नुपर्छ भन्ने हिसाबले सन् २०२० देखि २०३० सम्मका लागि त्यो भिजनका साथ काम गर्ने सोच बनाएका छौं । त्यसका लागि विज्ञहरूसँग सरसल्लाह पनि गरिरहेका छौं । पर्यटनको क्षेत्रमा सिंगो मुलुकको जनशक्तिलाई परिचालन गर्ने योजनाका साथ हामी सन् २०२० को मध्यतिर त्यसलाई पनि घोषणा गर्छौं ।


प्रकाशित | १६ पुष २०७६, बुधबार १५:२०