एनआरएनए कतारद्धारा नेपाली श्रमीकलाई लक्षित गरि सचेतना कार्यक्रम

दोहा । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारले आफनो नियमीत गतिविधीलाई जारी राखेको छ । त्यसै सिलसिलामा एनआरएनए कतारले यहाँको कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनि परिवर्तन गर्न पाइने नयाँ नियमको बारेमा एक सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको सो सचेतनात्मक कार्यक्रम कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा कतार सरकारको सम्बन्धित मन्त्रालयका जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ प्रमुख अतिथि कतारस्थित नेपाली दूतावासका श्रम कन्सुलर कृष्ण प्रसाद खनाल,आईसीसी अग्रजहरु वैचारिक संघ संस्थाका प्रमुखहरु पत्रकारहरु समाजिक एवम् धार्मिक संघ संस्थाका प्रमुख हरु प्रादेशिक तथा जिल्ला संघ संस्थाका प्रतिनिधिहरु समाजसेवी व्यवसायी तथा समाजका अगुवा तथा कार्यसमितिका पदाधिकारी एव सदस्यहरुलगायत नेपालीहरुको सहभागिता थियो ।

एनआरएनएले यस विषयमा केहि जानकारी आवश्यक भए एनआरएनए एनसीसी कतारको अधिकारिक ईमेलमा आफ्नो जिज्ञासा् पठाउन अनुरोध समेत गरिएको छ । नयाँ नियमको बारेमा जानकारी गराउन आयोजना गरिएको उक्त कार्यक्रम नेपाली श्रमिकहरका लागि निकै महत्वपूर्ण रहेको अध्यक्ष मुसलमानले बताउनुभयो ।

अध्यक्ष मुसलमानका अनुसार कतारमा केही समयअघि श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो। कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकहरुको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो । नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएको छ । त्यस्तै खानाका लागि प्रति महिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकहरुले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएको छ।

यस्तै, रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था पनि गरिएको छ। कतारमा करिव ४ लाखको हाराहारीमा नेपालीहरु कार्यरत छन् ।


प्रकाशित | १७ माघ २०७७, शनिबार २०:१४