धरहराको २० तला तयार

काठमाडौँ । भूकम्पबाट पूर्ण रूपमा क्षति भएपछि निर्माण भइरहेको नयाँ धरहराको २०औँ तलाको काम सम्पन्न भएको छ । उपत्यका अवलोकन गर्न यो तलामा बार्दली बन्ने छ ।

धरहरा निर्माणको भौतिक प्रगति ९० प्रतिशत र धरहरा पुनर्निर्माण आयोजनाको कुल भौतिक प्रगति र आर्थिक प्रगति ५० प्रतिशत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भुइँतलासहित २४ तलाको धरहरा निर्माण भइरहेको छ । बाँकी तलाको निर्माण यसै महिनाभित्र सम्पन्न हुने प्राधिकरणाले जनाएको छ । त्यसैगरी ‘मिन्ट’ र ‘अर्थक्वेक’ सङ्ग्रहालयको जग निर्माणको आधा काम भइसकेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले धरहराको २०औँ तलाको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । अहिलेसम्म तीन अर्ब ४८ करोड रुपियाँमध्ये एक अर्ब ५५ करोड रुपियाँ खर्च भइसकेको छ । करिब छ सय मोटरसाइकल र चार सय गाडी पार्किङ गर्न मिल्ने गरी निर्माणाधीन पार्किङको आधा काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

धरहराको निर्माणको समयावधि थपेर २०७८ साल असार १६ गतेसम्म रहेकोमा सो अवधिमा सम्पूर्ण निर्माण सम्पन्न हुन नसक्ने इन्जिनियर मानन्धरले स्पष्ट पार्नुभयो । दुई वर्षभित्र सम्पन्न गर्ने गरी धरहरा निर्माणका लागि प्राधिकरण र निर्माण कम्पनीबीच २०७५ असोज १४ गते सम्झौता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस १२ गते धरहरा निर्माणको शिलान्यास गर्नुभएको थियो । जीआई ईटीसी र रमन कन्स्ट्रक्सन कम्पनी (जेभी)ले धरहरा निर्माणको जिम्मा पाएका छन् ।

प्राधिकरणको समयावधि आगामी वर्षको पुस १० गतेसम्म भएकाले आगामी असार मसान्तसम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाइने छ ।

आकर्षक पर्यटकीयस्थल

ऐतिहासिक महìवको धरहराको निर्माण विशुद्ध पर्यटकीयस्थलका रूपमा भइरहेको प्राधिकरणको दाबी छ । व्यापारिक प्रयोजन वा व्यापारिक केन्द्रका रूपमा धरहराको निर्माण भइरहेको हल्ला गलत भएको इन्जिनियर मानन्धरले बताउनुभयो ।

धरहराको डायमिटर ‘बेस’ मा १४.२ मिटर छ जुन साँघुरिँदै अन्तिम तलामा ५.६ मिटर हुनेछ । धरहराको डायमिटर ‘बेस’ बाट दुई डिग्रीको स्लोपमा घट्दै जानेछ । निर्माणाधीन धरहराको उचाइ १९९० सालमा आएको भूकम्पभन्दा अघिको धरहराको हाराहारीमा हुनेछ । तीन अर्ब ४८ करोड रुपियाँको लागतमा निर्माण भइरहेको धरहरा ४२ रोपनी क्षेत्रफलमा फैलिने छ । गोरखापत्र दैनीकमा प्रकाशित समाचार ।


प्रकाशित | १० पुष २०७७, शुक्रबार ०८:२५