नेपाल–खनाल समूहले आज संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्दै

काठमाडौँ । नेकपा एमाले नेपाल–खनाल समूहले आज गठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने भएको हो । आज बस्ने स्थायी कमिटीका सदस्यहरुको बैठकले अभियान घोषणा गर्ने छ ।

अभियानसँगै आजदेखि राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने तयारी समेत भएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई अगाडि बढाउने निर्णय गरेको हो ।

संगठन विस्तार र सुदृढिकरणसम्बन्धी केही कार्यक्रम प्रस्ताव भएको बताउँदै नेता योगेश भट्टराईले आजको बैठकले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियान घोषणा हुने जानकारी दिनुभयो । हिजोको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको थियो । कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रही भएको बताउदै नेता भट्टराईले अध्यक्ष केपी शर्मा ओली एमालेलाई विभाजित गर्न उद्यत भएको आरोप लगाउनुभयो ।

एमाले अध्यक्ष ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गर्नुभएको थियो । चैत १६ गते वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि कारबाही गर्नुभएको थियो ।


प्रकाशित | २१ चैत्र २०७७, शनिबार ०८:२६