संसद विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम : महेश बस्नेत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले राष्ट्रपतिलाई महाभियोग लगाउने र प्रधानमन्त्रीलाई हटाउने लगायतका षड्यन्त्र भएकाले संसद विघटन गर्नुभएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम भएको भन्दै नेता बस्नेतले क्षणिक रूपमा यो अलोकप्रिय भए पनि मुलुकको हितमै रहेको बताउनुभयो ।

सञ्चारकर्मीसँग कुराकानी गर्नुृहुँदै नेता बस्नेतले भन्नुभयो, ‘आफ्नै पार्टीका नेताहरूले देशीविदेशी शक्तिसँग मिलेर प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने र राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने षड्यन्त्रको सुईँको पाएपछि प्रधानमन्त्रीले पार्टीलाई मिलाउन सकिन र नकारात्मक भूमिका भएका शक्तिहरू संलग्न भएकाले प्रधानमन्त्रीले जनतामै जान्छु भनेर निर्णय गर्नु भएको हो । यो उहाँको बाध्यात्मक कदम हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरी वैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने घोषणा गर्नुभएको थियो ।


प्रकाशित | ५ पुष २०७७, आईतवार १६:२५