एनआरएनए अध्यक्षका उम्मेदवार श्रेष्ठ र शर्माद्धारा मतपरिणाम अस्वीकार, एनआरएनको मर्यादामाथि आघात पुग्ने गतिविधि नगर्न अपिल

काठमाडौँ — गैर आवासीय नेपाली संघका अध्यक्षका प्रतिस्पर्धी उम्मेदवारले सार्वजनीक नजिता स्वीकार नगर्ने बताएका छन् । बिहीबार राति आएको मत परिणाम आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् ।

अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र राजेन्द्र कुमार (आरके) शर्माले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बिहीबार मध्यराति घोषणा गरिएको निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले आफूहररुलाई मान्य नहुने उल्लेख गरेका छन् ।

‘अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार केशव पौडेलको मत शून्य देखाइएको छ । भेरो कम्पनीको नाममा अनलाइन सिस्टम कब्जा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ, यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’

यो निर्वाचन समितिप्रति विश्वास नभएको विज्ञप्तिमा उल्लेख छ । ‘११ औं महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले उपयुक्त निर्णय गर्ने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै डेलिगेट्स मित्रहरुलाई संयम अपनाउन र एनआरएनहरुको मर्यादामाथि आघात पुग्ने कुनै पनि गतिविधि नगर्न अपिल गर्दछौं ।’

भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी गैर आवासीय नेपाली संघकै इतिहासमा पहिलोपटक गराइएको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने अपेक्षा गरेपनि त्यो नपाइएको विज्ञप्तिमा उल्लेख छ । ‘त्यसै अनुसार हामीले निर्वाचन कार्यक्रममा सक्रिय रुपमा सहभागी भै निर्वाचन समितिलाई पूर्ण सहयोग पनि गरेका थियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर पूर्व नियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन, संघको तर्फबाट भेरोसँग मास्टर कपी माग गरिएको छ ।’

संघको अध्यक्ष पदमा बद्री केसी विजयी भएको घोषणा गरिएको थियो । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा केसीले १३७८ , शर्माले १२८१ र श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले जारी गरेको नतिजामा उल्लेख छ ।


प्रकाशित | ३ कार्तिक २०८०, शुक्रबार ११:४०