महिला टी ट्वान्टी क्रिकेट विश्वकप छनोटकाे तालिका सार्वजनिक

एजेन्सी । सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने महिला टी ट्वान्टी क्रिकेट विश्वकपको छनोट प्रतियोगिताकाे तालिका सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी ट्वान्टी विश्वकपको लागि छनोट प्रक्रिया र तालिका सार्वजनिक गरेको हो ।

सन् २०२३ को टी ट्वान्टी विश्वकप खेल्न नेपालले दुई छनोट पार गर्नु पर्नेछ । छनोट अन्तर्गत क्षेत्रीय छनोटबाट शीर्ष टाेली र ५ क्षेत्र मध्य उत्कृष्ट दोस्रो राष्ट्र ग्लोबल छनोटमा जाने छन् ।

ती ६ राष्ट्रले सन् २०१९ को विश्वकप खेलेका राष्ट्रको आईसीसी वरियताको पुछारमा रहेको दुई टोलीसंग खेल्ने छन् ।

सन् २०२२ मा हुने छनोटमा शीर्ष दुई टिमले आईसीसी महिमा टी ट्वान्टी विश्वकपका लागि छनोट हुने छन् । नेपालले छनोट अन्तर्गत समुह एकमा आगामी सेप्टेम्बरमा खेल्ने तालिका रहेको छ ।

मलेसियामा हुने समूह एकमा ८ राष्ट्र सहभागी हुने छन् । एसियाकाे छनाेट समूहमा नेपालसंगै भुटान, मलेसिया, चीन, हङकङ, कुवेत, म्यानमार र युएई रहेका छन् । यी मध्य शीर्ष स्थानको राष्ट्र ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

लामो समयदेखि नेपालकाे तगारो बन्दै आएको थाइल्याण्ड यसपटक एसियाकाे छनाेट समूहमा रहेकाे छैन । जसको कारण नेपाललाई केही सहज हुने देखिएको छ । एसिया छनाेटकाे खेल मलेसियामा सन् २०२१ को सेप्टेम्बर २० देखि २६ सम्म हुनेछ ।

विश्वकपमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटमा यस नयाँ राष्ट्र सहित १ सय १५ राष्ट्रको सहभागिता रहने आईसीसीले जनाएको छ ।


प्रकाशित | २८ मंसिर २०७७, आईतवार ०८:४१