खुसीको खवर: नेपालमा पछिल्लो २४ घन्टामा नयाँ संक्रमित भेटिएनन्

काठमाडौं:  नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरिना संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ सय २४ जनाको कोभिड १९ परीक्षणमा नयाँ पोजिटिभ केस नभेटिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर गत २४ घण्टामा नयाँ कोरोना भाइरस पोजिटिभ नदेखिएको जानकारी गराउनुभयो ।

स्वास्थ्य मन्त्रालयको कोभिड १९ सम्बन्धी मिडिया बिफ्रिङमा बोल्नुहुँदै देवकोटाले देशभर हालसम्म ८ हजार ४ सय १४ जनाको पिसिआर प्रविधिबाट नमुना परीक्षण भएको जानकारी समेत गराउनुभयो ।

प्रवक्ता देवकोटाले भन्नुभयो, ‘नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। जसमध्य ४ जना निको भइसकेका छन्। बाँकि २७ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य स्थिति सामान्य छ ।’

प्रदेश नम्बर १ को कोशी अस्पतालमा १३ जना, प्रदेश २ को नारायणी प्रादेशिक अस्पताल ४ जना, सुदुरपश्चिम प्रदेशमा ३ जना, वागमति प्रदेशमा टेकु अस्पतालमा १ र चितवनमा २ जनाको उपचार भइरहेको छ।

सरकारले देशका सबै जिल्लामा दूत परीक्षण आरडिटी प्रविधिबाट पनि परीक्षण भइरहेको जनाएको छ। हालसम्म देशभर २५ हजार १ सय ४८ जनाको परीक्षण भएको जनाएको छ। गत २४ घण्टामा ३ हजार १९ जनाको परीक्षण भएको छ।


प्रकाशित | ८ बैशाख २०७७, सोमबार १८:२४