एनआरएनएको ‘विशेष महाधिवेशन’ जनवरी २३ र २४ मा गर्ने घोषणा, विधान संशोधन प्रमुख एजेन्डा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) को विशेष महाधिवेशन आगामी जनवरी २३ र २४ तारिखमा मर्चुअल रुपमा गर्ने घोषणा गरिएको छ । संघ स्थापनाको १७ वर्षे इतिहासमा सांगठनीक पुनर्सरचनादेखि संस्थामा ब्यापक सुधारको प्रस्ताव लगिने सो विशेष महाविधेशनमा विधान संशोधन प्रमुख एजेन्डा रहने बताइएको छ ।

विश्वब्यापी रुपमा कोभिड १९ अर्थात कोरोना भाइरसको कारण फिजीकल रुपमा गर्न असम्भव भएपछि संघले परराष्ट्र मन्त्रालयसमक्ष भर्चुअल विशेष महाधिवेशन गर्न माग गरेको थियो । संघको मागअनुसार परराष्ट्र मन्त्रालयले स्वीकृत दिएपछि संघले विशेष महाधिवेशनको मिति घोषणा गरेको हो ।

गैर आवासीय नेपाली संघको ७५ औं बैठकले विशेष महाधिवेशनको मिती तय गरेको हो । विशेष महाधिवेशनमा गत विश्व सम्मेलनमा पारित हुन नसकेको आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिनेछ । साथै विधान संशोधन प्रमुख एजेन्डाका रुपमा लगिने तयारी भइरहेको छ ।

संघका अध्यक्ष कुमार पन्तले यसअघि छलफलमा ल्याउनुभएको संस्थामा ब्यापक सुधार गर्ने खालका सांगठनीक सुधारसहितका प्रस्ताव विशेष महाधिवेशनमा प्रस्तुत गरिनेछ ।

विशेष महाधिवेशनमा संस्थाको रुपान्तरणको लागि निशूल्क सदस्यता तथा महाधिवेशनको रजीष्ष्ट्रेसनको ब्यवस्था र आइसिसी सदस्य संख्याको निर्धारण, चयन पक्रिया, अन्तराष्टिय  समन्वय परिषद्को महाधिवेशनमा हुने प्रतिनिधिको छनौट विधी, पक्रिया र मापदण्ड निर्धारण, अनलाईन मतदान (निर्वाचन कार्याविधी ), संस्थाको कार्यकाल, कार्यकारिणी समितिको आकारका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गरिने जनाइएको छ । जसको लागि विधान संशोधन सुझाव समितिले विश्वभरिका एनसिसीमार्फत आवश्यक सुझावहरु माग गरेको छ ।


प्रकाशित | १२ मंसिर २०७७, शुक्रबार १८:५३