सचिवालय बैठक बोलाउन प्रचण्डसहित शीर्ष नेताले गरे ओलीलाई लिखित अनुरोध

काठमाडौं – नेपाल कम्युनिष्ठ पार्टीका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड ) सहित पाँच शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सचिवालय बैठक बोलाउन लिखित अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर शीर्ष नेताहरुले पार्टीको सचिवालय बैठक बोलाउन लिखित रुपमा आग्रह गर्नुभएको हो ।

शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले बोलाउनुभएको अनौपचारिक सचिवालय बैठकमा अध्यक्ष ओलीसहित तीन जना सचिवालय सदस्य सहभागि नभएपछि बैठकले ओलीलाई सचिवालय बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज प्रचण्डसहित वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले संयुक्त रुपमा भेटी सचिवालय बैठक बोलाउन लिखित पत्र बुझाउनुभएको हो ।

पार्टी प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीसँग पार्टीभित्र देखिएको पछिल्लो अन्तरविरोध समाधानका लागि सचिवालय बैठक भोली र पर्सीसम्म बोलाइसक्न आग्रह गरिएको जानकारी गराउनुभयो । यद्यपी प्रधानमन्त्री ओलीले बैठक बोलाउने विषयमा कुनै निस्कर्ष ननिकालेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

लिखित पत्रमा पार्टीभित्र देखिएको राजनीतिक संकट, कोभिड संकट र त्यसले जनजीवनमा पारेको विभिन्न असरहरुको सम्बोधन गर्ने गरि बैठक बस्नुपर्ने उल्लेख गरिएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।


प्रकाशित | २२ कार्तिक २०७७, शनिबार १३:३८