एनआरएनले अनावश्यक कुरामा नअल्झिई रचनात्मक काम गर्नुपर्छ : डा. शेष घले

काठमाडौं: गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. शेष घलेले गैर आवासीय नेपालीहरुले नेपाली समुदायको हितमा रचनात्मक काम गर्नुपर्नेमा जोड दिनु भएको छ ।

विनोद कुँवर नेतृत्वको एनआरएनएको अमेरिकाज् क्षेत्रको क्षेत्रीय बैठकलाई जुम मार्फत सम्बोधन गर्नुहुँदै डा. घलेले गैर आवासीय नेपालीहरु अनावश्यक कुरामा अल्झने नभई नेपाली समुदायको हितमा नयाँ नयाँ रचनात्मक काम गर्दै जानुपर्नेमा जोड दिनु भएको हो ।

‘अब हामी संस्थाको अनावश्यक कुरामा अल्झेर समय नष्ट गरेर बस्ने भन्दा पनि सहि काम गर्दै अगाडी जाने हो। संघलाई अब बिनोद कुँवरजीको नेतृत्वले राम्रोसँग अगाडी लिएर जाने कुरामा हामी विश्वास्त छौ’, उहाँले भन्नुभयो।

उहाँले संघसंस्था राम्रो कामको लागि सुरु गरिने र त्यसले सहि दिशामा अगाडी जाँदा, सिक्दै, परिमार्जन हुने तथा सुधार्दै जानुपर्नेमा एनआरएनएको २० बर्षमा त्यस्तो हुन नसकेको बताउनु भयो । संस्था बिकासको रुपमा जाँदा इभोलुशनको रुपमा अलिकति टर्निङ्ग पोइण्ट आएको उहाँको भनाइ छ ।

उहाँले केहि समय पहिला काठमाडौँमा पहिलो पटक नेपाल सरकारसँग एमआइटी फाउण्डेशन र एनआरएनए फाउण्डेशनको आयोजनामा गरिएको ग्रीन हाइडेजन समिटिको रिपोर्ट चाँडै आउने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘समिट अत्यन्तै सफल र नितान्त आवाश्यक भएको कार्यक्रम हो। यसको फिडब्याक राम्रो रुपमा आएको छ। अब दोश्रो सम्मेलन जनवरी २०२३ मा गर्ने तयारी हुँदैछ। त्यो समयसम्म प्रोजेक्ट पनि तयारी हुनेछ।’

त्यस्तै, उहाँले नेपालमा गर्ने लगानीका बिषयमा सामाजिक जिम्मेवारी पनि जोडिएको र त्यो अनुसार गर्नुपर्ने कुरामा जोड दिनुभयो। नेपालमा मात्र होइन एनआरएनएको विस्तारससंगै सम्भव भएका देशमा एनआरएनएकै मातहतमा ग्लोबल एनआरएन फाउण्डेशन पनि विस्तार गरिदै जाने बताउनु भयो ।

सो अवसरमा उहाँले  एनआरएनका बिषय, नेपाल र नेपाली अनि आफू बसेको देशमा गर्ने काम, ग्रिन हाइड्रोजन समिट लगायतका बिषयमा घारणा राख्न्नु भएको थियो ।

संघका अध्यक्ष बिनोद कुंवरले हालसम्मका गतिबिधि, संघको महाधिवेशन र आधिकारिकताका बिषय र नयाँ योजनाहरुबारे जानकरी दिनुभयो। उहाँले एनआरएनएको भवन निर्माणमा डा. शेष घलेसहित धेरैको योगदान रहेको बताउनु भयो ।

उहाँले आफूले एनआरएन छाडेर नगएको भन्दै भन्नु भयो, संघमा हाम्रो आधिकारिकता छ र अन्यथा हामी छोडेर जाने र बिर्सने जाने होइन । उहाँले अब सदस्यता वितरण देखि आगामी कार्यक्रमहरुबारे समेत जानकारी दिनुभयो।

कुँवर नेतृत्वकी महासचिव जानकी गुरुङले अहिलेसम्म गरेका गतिबिधिहरु र संघको धारणा, वर्तमान समयमा उठेका बिषयहरुबारे जानकारी गराउनु भएको थियो।

कुँवर नेतृत्वको अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) कृष्ण पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यानाडाका अध्यक्ष कुन्दन घिमिरे र अमेरिकाका अध्यक्ष सूर्य लम्साललगायतले आआफ्ना देशका गतिबिधि र आगामी योजना प्रस्तुत गर्नुभएको थियो।


प्रकाशित | १६ कार्तिक २०७९, बुधबार २१:४१