रौतहटमा ३५ जनामा सङ्क्रमण पुष्टि, सबै भारतबाट हालै आएका थिए

कृष्ण तिवारी /रौतहट

रौतहटमा बुधबार फेरि ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, ईशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् ।

सङ्रक्रमित ३५ जनामध्ये गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाही गोनाही नगरपालिकामा दुई, कटहरिया नगरपालिकामा दुई र गढीमाई नगरपालिकामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभएको छ ।

सङ्क्रमण पुष्टि भएका सबैजना हालै भारतको विभिन्न सहरबाट रौतहट आएको समेत प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

सङ्क्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसिरहेका छन् । सङ्क्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक हजार ११२ जनाको स्वाब सङ्कलन गरी परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडौँ पठाइएकोमा बुधबार ३५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला जन स्वास्थ्य कार्यालय प्रमुख कृष्ण साहले बताउनुभयो ।

यसअघि मङ्गलबार मात्रै विभिन्न नगरपालिकामा गरी २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । योसँगै रौतहटमा सङ्क्रमित हुनेको सङ्ख्या १०५ पुगेको छ ।
जिल्लामा ३५ जना सङ्क्रमित फेला परेको प्रजिअ घिमिरेले पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले यसबारे अझै केही भनेको छैन ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएपनि जिल्लामा आइसोलेसन बेडको भने अभाव छ । केही पालिकाहरूले संयुक्त लगानीमा आइसोलेसन बनाउन सुरु गरे पनि त्यसको निर्माण कार्य अझै सकिएको छैन ।

जिल्लामा हाल गौर नर्सिङ क्याम्पसको आइसोलेसनमा १८ जना र राजपुर स्वास्थ्य चौकीको आइसोलेसनमा २६ जनाको उपचार भइरहेको छ । गोरखापत्र अनलाइन


प्रकाशित | १४ जेष्ठ २०७७, बुधबार १४:०८