सुजाता कोइरालाद्वारा काँग्रेस सभापतिको उम्मेदवार बन्ने घोषणा

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । पार्टीको चौंधौं महाधिवेशनमा सभापतिका लागि उम्मेदवार बन्ने कोइरालाले घोषणा गर्नुभएको हो ।

सुजाता कोइरालाले रिपोर्टर्स नेपालमा आयोजीत कार्यक्रममा बोल्दै भन्नुभयो, ‘पार्टीको पुरानो साखलाई फिर्ता गरेर देशलाई एउटा निकास दिने दृढ संकल्प र अठोटका साथ म पार्टीको चौधौं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु ।’ उहाँले पार्टीमा योगदान गरेका अग्रज तथा युवापुस्ताबीच समन्वय गरी अगाडि बढ्ने संकल्प गरेको बताउँदै सबैलाई सहयोगको आग्रह गर्नुभएको छ ।

पार्टीभित्र नेता कार्यकर्ताको ठूलो पंक्तिमा चरम निराशा छाएको औल्याउँदै कोइरालाले काँग्रेस शिथिल हुँदा सिंगो मुलुक नै अधिनायकवादतर्फ जाने खतरा बढेको बताउनुभयो । उहाँले पार्टी र देशलाई संकटबाट जोगाउन पनि आफूले काँग्रेसको नेतृत्व गर्ने दिशामा पाइला बढाएको बताउनुभयो ।


प्रकाशित | १५ कार्तिक २०७७, शनिबार १३:२२