प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

काठमाडौं: गत १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७७ /०७८ को विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव बुधबार बसेको प्रतिनिधिसभा बैठकले बहुमतले पारित गरेको हो ।

विधेयकको पक्षमा नेकपा सांसदहरूले पक्षमा मतदान गरे भने प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मत हाले । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गर्नुभएको थियो ।

विनियोजन विधेयकमाथि प्रतिपक्ष दलका सदस्यले २६ खर्च कटौतीसम्बन्धी राख्नुभएको प्रस्तावलाई सभाको बहुमतले अस्वीकृत ग¥यो । विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि यही जेठ २३, २४ र २५ गते सदनमा छलफल भएको थियो भने तिनमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जेठ २७ र २८ गते जवाफ दिनुभयो ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका शीर्षकमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिनुभएको थियो ।


प्रकाशित | २८ जेष्ठ २०७७, बुधबार १५:३८