छिमेकीले छतबाटै कोरोना सर्लाझैं गरे

डा प्रकाश ज्ञवाली

असोज १० गते शनिबार बेलुका रुघा लागेको जस्तो भएको थियो। घाँटी पनि पनि दुख्यो। ज्वरो आउन थाल्यो। ज्वरो अघिपछि रुघा लागेको समयमा आउनेभन्दा कडा खालको थियो। शरीर दुख्ने, गलाउने जस्तो लक्षण देखियो।

कोरोना महामारी फैलिएको समय दैनिक कार्यालय जाने भएकाले कोरोनाकै जस्तो लक्षण देखिएपछि असोज ११ गते गएर पिसिआर परीक्षण गराएँ। भोलिपल्ट रिपोर्ट पोजिटिभ आयो।

म बाहेक घरमा श्रीमती, छोराछोरी र सहयोगी बहिनीलाई समेत त्यस्तै लक्षण देखिएकोले असोज १२ गते उनीहरुको पनि पिसिआर परिक्षण गरियो। रिपोर्ट सबैको पोजेटिभ आयो।

जति धेरै कुरा कोरोना भाइरसको बारेमा जानेको–बुझेको भएपछि पहिलोपटक आफूलाई संक्रमण देखिएको थाहा पाउँदा निकै डर लाग्ने रहेछ।

पोजेटिभ आएपछि सामान्य लक्षण देखिएको र सबै परिवारलाई संक्रमण भएपछि होम आइसोलेसनमा नै बस्यौँ।

आयुर्वेदको चिकित्सक भएकाले पहिलेदेखि नै जडिबुटीहरु मात्रा मिलाएर त खाइरहेका थियौँ नै। गुडुची (गुर्जो) १ चम्चा २ कप पानीमा पकाएर १ कप बाँकी रहेपछि छानेर, च्यवनप्रास १–१ चम्चा बिहान र बेलुका, अश्वगन्धा चुर्ण १–१ चम्चा बिहान–बेलुका दूधसँग, यस्टीमधु चूर्ण १–१ चम्चा र त्रिकटु १–१ ग्रामका दरले बिहान–बेलुका मनतातो पानीसँग खाने गरियो, जसले गर्दा ३ दिनमै सबै लक्षण हराएर गयो।

तर, पनि ज्वरो आएकाले सिटामोल, भिटामिन सी, डी र भिटामिन बी कम्पेक्स पनि खायौं।

३ दिनसम्म लक्षण देखियो। त्यसपछि भने लक्षण हराएर ठिक हुँदै गयो। लक्षण देखिँदासम्म त एकअर्कालाई केयर गरेर नै बस्यौँ। कसलाई कतिबेला समस्या बढ्ने हो भन्ने चिन्ता हुने रहेछ। त्यसैले पोजेटिभ देखिएको ३ दिनसम्म त कसैलाई पनि जानकारी गराएनौं।

बुबाआमा सुर्खेत बस्ने भएकाले चिन्ता होला भनेर पनि भनेनौं। अन्य आफन्त र साथीभाइलाई पनि तीन दिनपछि मात्र जानकारी गरायौं।

घरबाट बाहिर ननिस्कन नमिल्ने भएकाले आवश्यक सामानका लागि पसलमा फोन गरेर गेट बाहिरसम्म ल्याइदिन भन्यौँ। मेरी श्रीमतीको दिदी पनि नजिकै बस्नुहुन्छ। उहाँले नै आवश्यक परेका सरसामानहरु ल्याइदिनुभयो।

दिनभरि घरमा बस्ने र अफिस जान नपरेपछि धेरैसँग फोनमा कुरा हुँदा हामीलाई जस्तो लक्षण अरुलाई पनि देखिएको रहेछ। क्ति जनाले घरमा एक जनाको पोजेटिभ आएपछि अरुलाई लक्षण भएपछि जाँच नगरी घरमै आइसोलेसनमा बसेको पनि थाहा पाएँ।

पिसिआर जाँच गर्न समस्या छ। त्यसैले घरमा एक जना गरेपछि भइहाल्यो नि भन्ने सोच पनि रहेछ। जटिबुटीबारे जानकारी लिन, मलाई यस्तो समस्या भयो, कुन जडिबुटी कसरी खाउँ भनेर दैनिक ८–९ जना नयाँ व्यक्तिले फोन गर्नुहन्थ्यो।

म स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत छु। मैले अनुसन्धान, अनुगमन र नीति निर्माणको जिम्मेवारीमा छु।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको कार्यमा अप्रत्यक्ष रुपमा संलग्न छु। म अनुसन्धान, अनुगमन र नीति निर्माणको जिम्मेवारीमा छु।

पोजिटिभ देखिनुअघि सबै प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक सहितको युनिट राख्ने भनी मन्त्रालयले कार्याविधि बनाउन भनेको थियो। सोही विषयको तयारी गर्दागर्दै पोजिटिभ देखियो। अब फेरि उक्त विषयमा काम अगाडि बढाउनुपर्ने छ।

अब यस पटक बडादसैंमा पनि काठमाडौं बाहिर जाने योजना छैन। कोरोना संक्रमण उच्चदरमा देखिइरहेकाले यस पटक काठमाडौंमै चाडबाड मनाउने योजनामा छौं।

संक्रमण देखिएपछिको अवस्था अलि फरक हुने रहेछ। यसले मानिसको मनमा कसरी डर जमाएर बसेको छ भन्ने अनुभव पनि भयो।

छिमेकीहरु हामी छतमा गयो भने पनि छतबाटै सर्लाझैं गरी डराए। त्यसैले हामीमध्ये कोही छतमा जानुपरेमा पनि मास्क लगाएर जाने गर्थ्यौं। कसैले फोनमा पनि सर्छ कि झैं गरेर कुरा गरेको अनुभव हुँदा भने डरले निकै जरा गाडेको छ भन्ने लाग्यो।

कोरोना संक्रमण जहिले, जोकोहीलाई पनि देखिन सक्छ। त्यसैले सरकारले भनेका सबै मापदण्ड पालना गरौं। कसैलाई पोजेटिभ देखिएपछि घरमा सबै मापदण्ड पालना गरेर कम्तीमा १४ दिन आइसोलेसनमा बसौं। भीडभाडमा नजाने र वुद्धवद्धा जोगाउने काम गरौं। स्रोत – स्वास्थ्य खवर


प्रकाशित | ८ कार्तिक २०७७, शनिबार १०:५४