स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते गर्ने निर्णय गरेको हो ।

सञ्चार, सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ७५२ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिनु भयो ।

वैशाख ३० गते स्थानीय तहको चुनाव गर्नका लागि कानुन संशोधन गर्नु नपर्ने पनि प्रवक्ता कार्कीले बताउनु भयो । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले निर्वाचन आयोगले नै जेठ ४ या वैशाख ३० गते चुनाव गर्दा कानुन संशोधन गर्नु नपर्ने जानकारी गराएको बताउनुभयो ।

यसअघि सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने निर्णय गरेका थिए भने निर्वाचन आयोगले ४ जेठ निर्वाचन गर्न प्रस्ताव गरेको थियो । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिदैंछ ।


प्रकाशित | २४ माघ २०७८, सोमबार १६:३२