मध्यपूर्वका अधिकांश एनसिसी नि:शुल्क सदस्यता र अनलाइन भोटिङको पक्षमा उभिए

‘संघले अघि सारेको निःशुल्क सदस्यता सम्वन्धी प्रस्ताव मध्यपूर्वका नेपालीहरुको आवाज’

दोहा । गैर आवासीय नेपाली संघले अघि सारेको ‘निशुल्क सदस्यता र अनलाइन भोटिङ’को प्रस्तावको पक्षमा मध्यपूर्वका अधिकांश एनसिसी एकमत देखिएका छन् । एनआरएनए मध्यपूर्वको सातौं क्षेत्रीय भेलामा संघले अघि सारेको अनलाइन भोटिङ्ग, निःशुल्क सदस्यता, प्रतिनिधी चयन, विधान संशोधन लगायतका विषयमा आयोजीत छलफलको क्रममा अधिकांश एनसिसीले सो प्रस्तावमा आफूहरुको पूर्ण समर्थन रहेको जनाएका हुन ।

गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष प्रकाश कोइरालाले छिटोभन्दा छिटो विधान संशोधन गरि अविलम्व अनलाइन भोटिङ र सदस्यता नि:शुल्क हुनुपर्ने विचार राख्नुभयो । उहाँले नि: शुल्क सदस्यताको प्रस्ताव मध्यपूर्वका श्रमीक वर्गको पक्षमा रहेको बताउँदै यसलाई कुनै पनि हालतमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

एनआरएनए साउदी अरबका अध्यक्ष तेज बहादुर थापाले निःशुल्क सदस्यता वितरणले मध्यपूर्वका श्रमिकहरुको आवाजलाई समेट्ने भएकाले संघले अघि सारेको प्रस्तावको स्वागत गर्नुभयो । अध्यक्ष थापाले निःशुल्क सदस्यता वितरण सम्वन्धी प्रस्तावमा पूर्ण रुपमा समर्थन रहेको बताउँदै हाम्रा भन्दा राम्रा मान्छेहरु नेतृत्व तहमा ल्याउन प्रविधीमैत्री बनाउनु पर्नेमा पनि जोड दिनुभयो ।

संघको निर्वाचनमा किन्ने र बेच्ने चलखेलको अन्त्य गर्न अनलाइन भोटिङमा जान आवश्यक रहेको उहाँको भनाई छ । उहाँले संघले अघि सारेका प्रस्तावहरु कार्यान्वयन गर्ने तर्फ लाग्न पनि सबैमा अपिल गर्नुभयो ।

Image may contain: 14 people, including Manoj Gorkhali, Hem Raj Sharma, Tej Bahadur Thapa and Binod Bhattarai, indoor

गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष महमद मुक्तदाले संघको निःशुल्क सदस्यता वितरणको विषयलाई थप अध्ययन गरेर अघि बढ्न सकिने बताउँदै संघको आगामी निर्वाचन अनलाइन मार्फत गर्दा उचित हुने धारणा राख्नुभयो ।

गैर आवासीय नेपाली संघ बहराइनकी अध्यक्ष लक्ष्मी गिरीले निःशुल्क सदस्यता प्रस्ताव उपयुक्त भएको बताउँदै सदस्यता वितरण गर्नुअघि उचित विकल्प भने ल्याउन सुझाउ दिनुभयो । उहाँले कोभिड-१९ को प्रभावपछि संघको लोकप्रियता बढेको बताउँदै डिजिडल युगमा टाउको गनेर मतदान गर्ने सिस्टम हटाउनु पर्नेमा जोड दिनुभयो ।

एनआरएनए ओमानका अध्यक्ष सेमन्त पुर्जा पुनले कोभिड -१९ का बीच सकारात्मक रुपमा निःशुल्क सदस्यता सम्वन्धी प्रस्ताव अध्ययन गरेर आएकोमा खुसी ब्यक्त गर्नुभयो । संस्था प्रगतिशिल हुदै गएको बताउँदै उहाँले बिभिन्न एनसीसीहरुमा फरक फरक व्यवस्था रहेकाले सो कुरालाई पनि ध्यान दिनुपर्ने सुझाव राख्नुभयो । उहाँले अनलाइन भोटिङमा जाने निर्णय स्वागत योग्य कदम भएको र केन्द्रीय प्रतिनिधी दर्ता शुल्क खारेज गर्नुपर्ने पनि बताउनुभयो ।

गैर आवासीय नेपाली संघका सल्लाहकार टिबी कार्कीले संघले अघि सारेको निःशुल्क सदस्यता सम्वन्धी प्रस्ताव मध्यपूर्वका नेपालीहरुको आवाज भएको विचार राख्नुभयो । उहाँले आयस्रोत जुटाउन नसक्ने एनसीसीहरुलाई विकल्प दिएर अघि बढ्न सकिने बताउनुभयो । उहाँले संघका निर्वाचनमा हुने बेथितीलाई व्यवस्थित गर्न नयाँ प्रस्ताव ल्याइएको पनि बताउनुभयो ।

संघका अर्को सल्लाहकार कुल आचार्यले निःशुल्क सदस्यता वितरण सम्बन्धी प्रस्ताव सकरात्मक रहेको बताउँदै सदस्यता निःशुल्क सम्वन्धी प्रस्तावको निर्णय गर्ने अधिकार राष्ट्रिय समितिलाई दिएर जान सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.बद्री केसी, महासचिव डा. हेमराज शर्मा, सचिव गौरी राज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहाल, प्रवक्ता डिबी क्षेत्री लगायतले संघले अघि सारेको सांगठनीक प्रस्तावको विषयमा कार्यपत्र प्रस्तुत गर्दै उठेको सवालको विषयमा प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा एनआरएनए सचिव राजेन्द्रकुमार शर्मा र साउदी अरवबाट आइसिसी सदस्य एसिमा बेगम सायदले सहजीकरण गर्नुभएको थियो ।


प्रकाशित | १ कार्तिक २०७७, शनिबार ०८:२९