एनआरएनए निर्वाचन : कुन पदमा कसको पर्‍यो उम्मेदवारी ?

काठमाडौं –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा ५० जना भन्दा बढीको उम्मेदवारी परेको छ । यही २१-२२ मार्चमा ६० पदका लागि हुन गइरहेको निर्वाचनमा ५० जना भन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

अनलाईनको माध्यमबाट सोमबारदेखि उम्मेदवारी दर्ता शुरु गरेको समितिले यसअघि उम्मेदवारी दर्ता मंगलबार ८ मार्च साँझ ५ बजेसम्म तोकिएकोमा तीन दिन थप्दै ११ मार्च अर्थात आज शुक्रबार साँझ ५ बजेसम्म तोकेको थियो ।

समितिले साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि आएका फारामको रुजु गर्ने कार्य जारी रहेकाले शनिबार बिहानसम्म मात्र उम्मेदवारको सुची प्रकाशन गरिने जनाएको छ ।

समितिका अनुसार केन्द्रीय पदाधिकारीमध्ये अध्यक्ष, खुल्ला उपाध्यक्ष, महासचिव, खुला सचिव र कोषाध्यक्ष पद बाहेकमा भने निर्विरोध भएको छ भने क्षेत्रका धेरै पदमा पनि निर्विरोध भएको छ ।

समितिका अनुसार अध्यक्षमा डा. बद्री केसी (रसिया) र रवीना थापा (अमेरिका) को मात्र उम्मेदवारी परेको छ ।

उता कुल आचार्य पक्षले भने निर्वाचन प्रक्रियामा असंतुष्ट जनाउँदै निर्वाचन बहिष्कार गरेको छ । आचार्य पक्षधरले प्रतिनिधि विवाद समाधान नगरि एक्लौटी ढंगले निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै शुक्रबार मात्रै छुट्टै महाधिवेशन आयोजक कमिटि र निर्वाचन कमिटि गठन गर्दै दशौं महाधिवेशन मार्च २२ देखि २५ तारिख काठमाडौंमा आयोजना गर्ने घोषणा गरेको छ ।

यस्तै निर्वाचन समितिका अनुसार उपाध्यक्षमा डा. हेमराज शर्मा (युके), धर्मराज अधिकारी (अष्ट्रेलिया), डिबी क्षेत्री (ओमान), राजेन्द्र कुमार शर्मा (कतार), टंक गैरे (जापान) र जयप्रकाश गुरुङ (युके) गरि ६ जनाको उम्मेदवारी परेको छ । विधानत चार जना खुला उपाध्यक्ष आवश्यक पर्छ ।

युवा उपाध्यक्षमा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापा र महिला उपाध्यक्षमा सउदी अरेबियाबाट आइसिसी सदस्य रहनु भएकी यासमिन बेगम सैयदको मात्रै उम्मेदवारी परेको छ । थापा र सैयद निर्बिरोध हुनु भएको छ ।

एक पद रहेको महासचिवमा वर्तमान सचिव गौरीराज जोशी (अमेरिका) र ग्लोवल गोरखा समाजका अध्यक्ष समेत रहनु भएका युकेका विनय अधिकारीको उम्मेदवारी परेको छ ।

तीन पद रहेको खुल्ला सचिवमा जापानका ओम गुरुङ, युकेका रामशरण सिम्खडा, क्यानडाका चिरन्जीवी घिमिरे, अमेरिकाका शंकर खड्का र अष्ट्रेलियाका अभिमानसिंह बस्नेतको उम्मेदवारी परेको छ । महिला सचिवमा हङकङकी राधिका (टिका) गुरुङको मात्रै उम्मेदवारी परेकाले निर्विरोध हुनु भएको छ ।

त्यस्तै, कोषाध्यक्षमा वर्तमान सह-कोषाध्यक्ष बेल्जियमका लोकप्रसाद दाहाल र नेदरल्याण्ड्सका फणिन्द्र पन्तको उम्मेदवारी परेको छ ।सह-कोषाध्यक्षमा दक्षिण कोरियाका यज्ञराज सुवेदीको मात्रै उम्मेदवारी परेकाले निर्बिरोध हुनु भएको छ । महिला सहकोषाध्यक्षमा अमेरिकाकी यमुना भट्टराईको मात्रै उम्मेदवारी परेकाले निर्बिरोध हुनु भएको छ ।

महिला संयोजकमा युकेकी संगीता मरहट्ठा र युवा संयोजकमा डेनमार्कका रवीन्द्र खड्काको मात्रै उम्मेदवारी परेकाले निर्बिरोध हुनु भएको छ ।

क्षेत्रमा क-कसको पर्यो उम्मेदवारी ?

विभिन्न ६ वटा क्षेत्रको उम्मेदवारी दर्ताको समय पनि सकिएको छ । निर्वाचन समितिका अनुसार क्षेत्रबाट उम्मेदवारी दर्ताका लागि आएका फारामको रुजु गर्ने कार्य जारी छ । क्षेत्रबाट उम्मेदवारी परेका उम्मेदवारको पनि शनिबार बिहानसम्म मात्र उम्मेदवार सुची प्रकाशन गरिनेछ ।

ओसिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाबाट दिनेशराज जोशी, दिपक शर्मा र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ । क्षेत्रीय उपसंयोजकमा न्यूजील्याण्डबाट रामराजा ओली, अशोक केसी, क्षेत्रीय महिला संयोजकमा उषाकिरण बानियाँ
युवा संयोजकमा प्रदीप रुपाखेतीको उम्मेदवारी परेको छ ।

यता एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणी पोखरेल, क्षेत्रीय उपसंयोजकमा मलेसियाबाट हरि भट्टराई, जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

एसियाबाट महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारी, युवा संयोजकमा जापानबाट दीपक कँडेल र महिला उपसंयोजकमा इन्दिरा तिवारीले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल (जोन), क्षेत्रीय उपसंयोजकमा कुवेतबाट अमित चाम्लिङ र बहराईनबाट लालबहादुर पुनले उम्मेदवारी दर्ता गराउनु भएको छ । युवा र महिला का क्षेत्रीय संयोजकमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।

स्रोतका अनुसार युरोपबाट क्षेत्रीय संयोजकमा जर्मनीका सन्तोष भट्टराईको मात्र उम्मेदवारी परेको छ । क्षेत्रीय उपसंयोजकमा बेल्जियमबाट चित्र सुवेदी, जर्मनीबाट नवराज रोसायर, अस्ट्रियाबाट सागर सुवेदी, बेलायतबाट ललित न्यौपाने, क्षेत्रीय महिला संयोजकमा पार्वती मल्ल
महिला उपसंयोजकमा नुनिता सापकोटा, युवा संयोजकमा किरण गुरुङ, युवा उपसंयोजकमा रोबर्ट लिम्बुको उम्मेदवारी परेको छ ।

उता अफ्रिका क्षेत्रीय संयोजकमा राजकुमार थापा, क्षेत्रीय उपसंयोजकमा आरपी पन्त, महिला संयोजकमा केशना लिम्बुको मात्रै उम्मेदवारी परेको छ ।

त्यस्तै, अमेरिका क्षेत्रीय संयोजकमा प्रकाश सापकोटा, उपसंयोजकमा अभिमन्यु बस्नेत, पुरुषोत्तम बोहरा, महिला संयोजकमा तृष्णा शर्मा
महिला उपसंयोजकमा इन्दिरा त्रिपाठी, युवा संयोजकमा स्वराज खाती र युवा उपसंयोजकमा ईश्वर खत्रीको उम्मेदवारी परेको छ ।


प्रकाशित | २७ फाल्गुन २०७८, शुक्रबार २२:३७