नख्खु बिस्फोटका मुख्य अभियुक्त सूर्य भूजेल जेल चलान

काठमाडौं: नख्खुमा गराइएको बम बिस्फोटका मुख्य अभियुक्त सूर्य भूजेल कारागार चलान भएका छन्। जिल्ला अदालत ललितपुरको आदेशले ३८ वर्षीय भूजेल पुर्पक्षका लागि कारागार चलान भएका हुन्। कर्तव्य ज्यान, बम बिस्फोट हातहतियार तथा खरखजना र राज्यविरुद्धको अपराधमा भूजेल कारागार चलान भएका भुजृललाई आइतबार नै नख्खु कारागार चलान गरिएको छ।

परिसरका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुकका अनुसार भूजेल केही सार्वजनिक अपराध मुद्दामा शुक्रबार जिल्ला अदालत काठमाडौंबाट छुटेका थिए। छुटेलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो। तीन वटै मुद्दा चलिरहेका बेला भूजेललाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा वैशाख ६ गते रिहा गर्न आदेश दिएको थियो। रिहा भएलगत्तै पक्राउ गरी काठमाडौं परिसरले सार्वजनिक मुद्दा चलाएको थियो।

मुद्दा बुझाउने अन्तिम तयारी भइरहेका बेला भूजेललाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। नख्खु बिस्फोटमा संलग्न रहेको आरोपमा भूजेललाई फागुन १५ गते कलंकीबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो। फागुन १० गते एनसेलको नख्खुस्थित मुख्य कार्यालय अगाडि बम बिस्फोट गराइएको थियो। बिस्फोटको मुख्य अभियुक्त किटान गरी प्रहरीले भूजेललाई विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको थियो।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०६:४३